धुलिखेलमा पर्यटकका लागि प्याकेज


 


बनेपा, पुस १०
पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले आजदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् ।

क्षेत्रीय होटल संघ, (हान) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ प्रतिशत र आवासमा ३० प्रतिशत छुटको प्याकेज कार्यक्रम घोषणा गरेको छ ।

“आन्तरिक तथा बाह्य पर्यटकलाई सहुलियतमा धुलिखेलमा आवास र खाना उपलब्ध हुनेछ,” क्षेत्रीय होटल संघ, ९हान० का अध्यक्ष तथा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु (श्रेष्ठ)ले भन्नुभयो । आन्तरिक पर्यटक एक दम्पत्तिका लागि रु १५ हजारमा उपलब्ध हुने ‘कक्टेल डिनर’ अब रु नौ हजारमा उपलब्ध हुनेछ भने बाह्य पर्यटकका लागि ३० प्रतिशत छुट दिइनेछ । रु एक हजार ५०० मा पाइने खाना रु ८०० मा उपलब्ध हुने श्रेष्ठ बताउनुहुन्छ ।

अंग्रेजी नयाँ वर्षका लागि धुलिखेलमा विभिन्न कार्यक्रम गर्न तयारीसमेत भइरहेको छ । पर्यटन सूचना केन्द्रमार्फत पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको भनाइ छ । सो सूचना केन्द्र धुलिखेल नगरपालिका–७ मा स्थापना भएको छ । क्षेत्रीय होटल संघ, (हान) धुलिखेलसँग आबद्ध भएका होटल धुलिखेलमा २५ र नगरकोटमा १० रहेका छन् ।

क्रिसमसमा होटल सुनसान

धुलिखेलमा रहेका विभिन्न होटल आज क्रिसमसको दिन सुनसान जस्तै देखिएका छन् ।

अधिकांश बाह्य पर्यटक क्रिसमस मनाउन स्वदेश फर्केका कारण सुनसान भएको क्षेत्रीय होटल संघ, (हान) का अध्यक्ष प्रेमकण्ठ मकाजु, श्रेष्ठले जानकारी दिनुभयो । यहाँ आन्तरिक पर्यटकको चहलपहल भने देखिएको छ ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्