भजनमा बुद्ध तथा बोधिसत्वलाई स्मरण


 


काठमाडौँ,  पुस १०

विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा भजन गाएर बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परा विभिन्न विहारमा लोकप्रिय भइरहेको छ ।

विशेषगरी थेरवाद परम्पराका बौद्ध धर्मावलम्बीले स्थानीय बौद्ध संघ संस्थाका प्रतिनिधिको सहभागितामा यस किसिमको प्रचलनको क्रमिक विकास भएको हो ।

बुद्धगाथा लयबद्ध रुपमा गाउने पद्धतिलाई नै ज्ञानमाला भनिन्छ । विभिन्न स्थानमा भएका विहारमा फरक समूह तथा समाजमा यस्ता ज्ञानमाला स्वतःस्फूर्तरुपमा गठन गरिएका छन् । ज्ञानमाला भजन गाउने समूह अहिलेसम्म करिब १८ जिल्लामा झण्डै सयौँको संख्यामा गठन भएका छन् ।

नेपाल राष्ट्रिय ज्ञानमाला समितिले यस्ता समूहलाई संगठित गर्दै आएको छ । सोही समितिले प्रत्येक तीन वर्षममा एकपटक राष्ट्रियस्तरमा ज्ञानमाला सम्मेलनको आयोजना गर्दै आएको छ ।

देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी बुद्धगाथा, अन्तक्र्रिया, गोष्ठीलगायत कार्यक्रम गरी भावी राणनीतिका रुपमा प्रयोग गरिने व्यवस्था मिलाइएको समितिका अध्यक्ष किरण बज्राचार्यले जानकारी दिनुभयो । यही पुसको अन्तिम साता नवौ ज्ञानमाला सम्मेलन काठमाडौँमा हुने गरी तयारी भइरहेको छ ।

विसं २०५० मा पहिलोपटक ज्ञानमाला भजन खलको आयोजनामा सो सम्मेलन स्वयम्भूमा आयोजना गरिएको थियो ।

यस्ता बौद्धस्तोत्रमध्ये नामसंगीति, प्रज्ञापारमिता, दशबलजस्तव, मध्यगत, राम्रो मानिन्छ । यिनलाई विभिन्न छन्दमा समेटिएकाले दर्शक तथा स्रोतालाई श्रवणका लागि रमाइलो तथा रसिलो वातावरण सिर्जना हुन्छ ।

ओमकार ध्वनिलाई सृष्टिको पहिलो संगीत मानिएको छ । मानव शरीरभित्रका मुटु, फोक्सोलगायतका आन्तरिक अंगले गर्ने क्रियाले पनि एक प्रकारको ध्वनि तथा संगीत निकालेको हुन्छ । यसरी संगीतसँग हाम्रो गहिरो सम्बन्ध गासिएको अध्यक्ष बज्राचार्य बताउनुहुन्छ ।

भक्ति संगीतले मानिसलाई एकाग्र गरी सकारात्मक चिन्तनको विकास गर्ने विश्वास गरिएको छ । संगीतले जीवनलाई रसमय बनाउँछ, शब्द, ध्वनि र लयलाई चेतनाले संयोजन गरेपछि आउने भावना र गुञ्जनले आध्यात्मक चेतना भएका मानिसलाई भक्तिमार्गमा समाहित हुन सहयोग पु¥याउँछ ।

भक्ति भावनाको अर्थ भक्तको हृदयदेखि नै आउने आवाज हो । भक्ति सागरमा डुबुल्की मार्न सकिएमात्र बुद्ध तथा बोधिसत्वलाई साक्षात्कार गर्न सकिने चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विचार व्यक्त गर्नुभयो ।

बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व रहेको भए पनि यो व्यापक रुपमा फैलाउन नसकिएको अवस्थामा नयाँ ढंगबाट यसलाई सर्वसाधारणमा बुझाउन आवश्यक देखिएको छ ।

विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर भजनमय गीत सिर्जना गरियो । नेवारी भाषाबाट शुरु गरिएका ती भजन विभिन्न जिल्लामा सञ्जाल विस्तार गर्ने क्रममा पछि आएर नेपाली भाषामा पनि अनुवाद गरिएको इतिहास पाइन्छ । सम्बन्धित धर्मावलम्बीले अनौपचारिक रुपमा ज्ञानमाला भजनलाई निरन्तरता दिँदै आएका छन् ।

बुद्धले विकास गरेका विभिन्न ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको हुन्छ । अहिलेसम्म २०० भन्दा धेरै प्रकारका भजन विकास गरिएको छ । बौद्ध विद्वान् टीका शेर्पाले हिमाली भेगमा अभ्यास गरिने बौद्ध परम्परामा पनि बुद्धवचनलाई लयबद्ध रुपमा गाउने परम्परा रहेको जानकारी दिनुभयो ।

भिक्षु ज्ञानमाला भजनलाई मैथिली, भोजपुरी, अवधिका साथै विभिन्न जनजातिले बुझ्ने भाषामा अनुवाद गर्नुपर्ने आवश्यकता देखिन्छ त्यसपछि अंग्रेजीलगायत अन्य विदेशी भाषामा समेत अनुवाद हुनसकेमा सम्मेलनको औचित्यलाई विश्वमा प्रष्टाउन सकिने छ ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्