किन बस्न सकेन एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक ?
काठमाडौँ, पुस ८
पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बैठक स्थगित भएको छ ।
मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ फर्कन सक्नुभएन ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक आजलाई स्थगित भएको हो ।
यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहनुभएको दुवै पार्टीका नेताहरुले बताएका छन् । आजै यहाँ आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो ।
दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ ।
पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।
प्रकाशित मिति: ८ पुस २०७४, शनिबार