इन्डोनेसियामा क्रिसमसको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था


 


जकार्ता, पुस ७
विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियामा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा पारिएको समाचारमा जनाइएको छ ।

यस मुस्लिम देशमा क्रिसमसका समयमा हुनसक्ने हिंसालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन् ।

जकार्ताका अधिकारीहरुले जनाएअनुसार सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर जकार्तामा मात्र १ लाख ८० हजार थप सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ र आजै साँझदेखि सुरक्षाको नयाँ कार्यक्रम घोषणा गरिने छ ।

यस महिनाको सुरुमा नै देशका विभिन्न भागमा गरिएको खानतलासीबाट १३ जना सशस्त्र इस्लामिक लडाकूलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी गरिरहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको र उनीहरुको बारेमा तथ्य बाहिर ल्याउने जनाएको छ ।

पक्राउ गरेका केहीको इस्लामिक स्टेट्स (आइएस) सँग सम्बन्ध रहेको पनि अनुुमान गरिएको छ । तर छानबीनपछि मात्र उनीहरुको इराक या सिरियाका आइएससँग सम्बन्ध रहेको हो भन्ने बारेमा भन्न सकिने प्रहरीले जनाएको छ ।

राजधानी जकार्तामा थप गरिएका ती सुरक्षाकर्मीहरुले जकार्तामा रहेका क्रिसमस केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरुमा निगरानी गर्नेछन् ।

जकार्ता प्रहरीका प्रवक्ता मार्टिनस् सितोम्पुलले भन्नुभयो– हामीले सार्वजनिक स्थलमा निगरानी बढाएका छौँ, आजदेखि लिएर नयाँ वर्षको सुरुवातसम्म गरिने यस निगरानीले यहाँ हुनसक्ने असुरक्षाको अवस्थालाई कम गर्नेछ ।

उहाँले आजदेखि जनवरी २ सम्मका लागि नयाँ सुरक्षा प्याकेजको घोषणा गरिएको र थप सुरक्षाकर्मीमार्फत सो काम गरिने जानकारी दिनुभएको जकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्