दलित हकका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्छ : अध्यक्ष शर्मा


 


काठमाडौँ, पुस ७
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताउनुभएको छ ।

दलित सेवा संघले आज काठमाडौमा आयोजना गरेको ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार : चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उहाँले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । “दलित हक अधिकारका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्छ”, अध्यक्ष शर्माले भन्नुभयो ।

उहाँले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुनेमा पनि जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै गएको बताउनुभयो । “विश्वेश्वरप्रसाद कोइरालाले दलितको अधिकारलाई स्थापित गर्न प्रयत्न गरे पनि २०४६ सालपछि मात्र मार्ग प्रशस्त हुन थालेको हो”, उहाँले भन्नुभयो ।

दलित संघका अध्यक्ष चक्रमान विश्वकर्माले दलितको अधिकारलाई संविधानमा समावेश गरे पनि व्यवहारमा कार्यान्वयन हुन किठन भएको बताउनुभयो ।

उहाँले जातपातको भेदभावका कारण धेरै मानिसले अकालमै मृत्युवरण गर्नुपरेको छ भन्दै यसलाई रोक्न यस्ता अभियानले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका ३५ जिल्लाका दलित अगुवा एवं प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष टंक विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्