सवारीसाधनको ठक्करबाट एक पैदल यात्रिको मृत्यु


 


राजविराज, पुस ६
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

मृत्यु भएको अन्दाजी २६ वर्षीय पुरुषको नाम, थर, वतन हाल सम्म खुल्न नसकेको उहाँले बताउनुभयो । यता ठक्कर दिएर फरार भएका सवारी चालकको तीव्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ ।

स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए ।

सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, विगत केही दिनयता सप्तरीको सदरमुकाम राजविराजमा फोहरबाट फैलिएका लामखुटे मार्ने अभियानअन्तर्गत विषादी छर्ने कार्य शुरु गरिएको छ ।

राजविराज नगरपालिकाको अगुवाइमा लामखट्टेबाट हुने सरुवा रोग— डेंगु, मलेरिया, कालाजरजस्ता रोगलाई नियन्त्रण गर्नका लागि अहिले राजविराजका प्रत्येक वडामा लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम शुरु गरिएको प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।

राजविराज नगरपालिकाभित्र पर्ने १ देखि १६ नं वडासम्मका प्रत्येक वडामा लामखुट्टे मार्ने औषधि छर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

सोह्रदिने अभियानअन्तर्गत प्रत्येक दिन एक/एक वडामा लामखुट्टे मार्ने औषधि छर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्