अभियानका नाममा ब्रहम लुट : बालविवाह न्यूनीकरण उपलब्धि बिहिन


 


रोल्पा, पुस ६
जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हुन् ।

गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताउनुभयो ।

जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालीमसमेत सञ्चालन गरेका छौं, आचार्यले भन्नुभयो ।

प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानूनको समेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ ।

बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताउनुभयो । अभिभावक शिक्षासँगै बालविवाह न्यूनीकरणमा आफूहरु समेत लागेको गुरुङको भनाइ छ ।

पछिल्लो तथ्यांकअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रश सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्