राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई


 


काठमाडौँ, पुस ५
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिनुभएको छ ।

वामगठबन्धनमा आवद्ध दुई दल नेकपा (एमालें) तथा नेकपा (माओवादी) केन्द्र का शीर्ष नेतृत्वसंग आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्पन्न भेटमा उहाँले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिनुभएको जानकारी अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

“लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसित बुझ्नु भएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेता सुवास नेम्वाङ ,नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

भेटपछि नेकपा (माओवादी केन्द्र) का नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा बधाई दिनुभएको जानकारी दिनुभयो ।
उहाँले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकताबद्ध ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ५ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्