चितवनमाथि पोखराको सानदार जित


 


काठमाडौ, पुस ४
एभरेष्ट प्रिमियर लिगको दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले हराएको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले बिना कुनै विकेट क्षति १७.४ ओभरमा पुरा गरेको छ।

पोखराका लागि पाकिस्तानी खेलाडी इस्राउल्लाहले उत्कृष्ट प्रदर्शन गर्दै अर्धसतकीय पारी खेले। ५२ बल खेल्दै ६१ रन बनाएका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए।

त्यसअघि बलिङमा पनि उनले ४ विकेट लिएका थिए। इसरार उल्लाहले पाकिस्तानमा प्रथम श्रेणीका ६८, लिस्ट एका ४८ तथा ४७ वटा टी–२० खेल खेलेका छन्।

यस्तै ५४ बल खेलेका सुनिल धमलाले ४६ रन बनाए। उनले २ छक्का र तीन चौका प्रहार गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो।

उसका लागि ओपनर अनिल मण्डलले ३२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

सात रन हुँदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुँदा दोस्रो विकेटको रूपमा साबाज खानलाई शून्यमा गुमायो।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए।

तर ७७ रन हुँदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो। त्यसपछि ८८ रन हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भए।

चितवनको स्कोर १ सय रन हुँदा पाँचौ विकेटका रूपमा भिम सार्कीलाई गुमाएको उसका लागि योगेन्द्रसिंह कार्की ७ रनमै आउट भए।

बलिङतर्फ पोखराका लागि इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए। विक्रम सोब र तेज वालीले एक एक विकेट लिए।

प्रकाशित मिति: ४ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्