समानुपातिकतर्फको मतगणना सकियो, यस्तो आयो फाइनल नतिजा


 


काठमाडौँ, पुस २
गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना कार्य सकिए पनि अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ ।

नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा (माओवादी केन्द्र) १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६६ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेका छन् ।

प्राप्त मतपरिणाम अनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, फोरम र राजपाले ६ ६ सिट पाउने भएका छन् ।

प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेको थियो । अब यी पाँच वटा मात्र दल राष्ट्रिय पार्टी भएका छन् । एमाले पहिलो पार्टीको रुपमा उदाएको छ भने कांग्रेस दोस्रो र माओवादी यथावत स्थानमा रहेका छन् ।

प्रकाशित मिति: २ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्