ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?


 


काठमाडौँ, मंसिर २९
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ ।

अपराह्न काठमाडौँमा भएको भेटवार्तामा उहाँहरुबीच नयाँ सरकार गठन, पार्टी एकता प्रक्रिया, राष्ट्रियसभाको गठनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्षद्वयबीचको छलफलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र वाम गठबन्धन परिणाममुखी भएको निष्कर्ष निकालेको छ ।

उहाँहरुबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी पनि भएको छ ।

आजको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी बनेको प्रेस संयोजक तिमल्सिनाले बताउनुभयो ।

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्