प्रदेश नं १ मा एमालेको बहुमत, मुख्यमन्त्रीमा शेरधन


 


काठमाडौं, मंसिर २६
प्रदेश नं १ मा नेकपा (एमाले) पहिलो पार्टी भएको छ । उसले प्रदेश सभा गठनका लागि स्पष्ट बहुमत पुर्‍याउने देखिएको छ ।

बहुमतका आधारमा एमालेबाट मुख्यमन्त्री प्रदेश नं १ ले पाउने भएको छ । एमालेले शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

शेरधन प्रदेश सभा भोजपुर २ बाट भारी मतले विजयी भएका छन् । उनको मत प्रतिशन प्रदेश नं १ को सबैभन्दा बढी हो भने देशभरमा शेरधन तेस्रो पोजिसनमा छन् ।

उनले सदर मतको ७१.२३ प्रतिशत मत ल्याएर विजयी भएका हुन । राईले २०५६ सालमा भएको संसदिय निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रुपमा इतिहास रचेका छन् ।

२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा विजयी भएपछि राई संसदको सबैभन्दा शक्तिशाली सुशासन तथा अनुगमन समितिको सभापति भए भने २०७२ सालमा सूचना तथा सञ्चार मन्त्री एंव सरकारको प्रवक्ता भएका थिए ।

हाल राई एमाले पोलिटब्यूरो सदस्य हुन् भने प्रदेश १ को एमाले सह संयोजकको भूमिकामा छन् ।

कुल ५६ सिट रहेको एक नम्वर प्रदेशमा बाम गठवन्धनले ४६ सिटमा विजय हासिल गरेको छ । एमालेले एक्लैले ३६ र माओवादी केन्द्रले १० सिटमा विजय हासिल गरेको छ ।

प्रदेशसभातर्फ नेपाली कांग्रेसले ७ सिटमा र संघीय समाजवादी फोरम र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित हात पारेका छन् ।

यो प्रदेशअन्तर्गत सुनसरी जिल्लाको एक सिट बाहेक अन्य स्थानको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा भने मतगणना जारी छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

समानुपातिकबाट प्रदेश नं १ बाट ३७ जना सांसद चुनिन्छन् । अहिलेसम्म गणना भएको मतपरिणाममा एमाले पहिलो भएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्