अबको प्रधानमन्त्री को ? प्रचण्डले खुलाए यस्तो रहस्य


 


काठमाडौं, मंसिर २६
कम्युनिष्ट गठबन्धन बहुमतबाट दुई तिहाइ नजिकै पुगेसँगै चितवन — ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने खुलासा गरेका छन् ।

दाहालले ‘भोलिको नेतृत्व कसले गर्ने भनेर दुई अध्यक्ष रहेको पार्टी एकता संयोजन समितिले निर्णय लिने भए पनि अहिले संख्याको हिसाबले एमालेले सरकारको नेतृत्व लिने कुरा सबैले बुझ्न सक्छन्’ भनेका छन् ।

अध्यक्ष दाहालका अनुसार एमाले तथा माओवादी केन्द्रको एकता अनायास भएको नभई गठबन्धन घोषणा हुनुभन्दा एक वर्ष अघिदेखि नै कुरा सकारात्मक हुँदै गएको र वार्ता चलिरहेको बताएका छन् ।

स्पष्टरूपमा नबताए पनि एमालेलाई माओवादीसँग मिल्न वैशाख र जेठमा भएको तीन चरणको स्थानीय निर्वाचनले विशेष भूमिका खेलेको दाहालको बुझाइ देखिन्छ ।

स्थानीय निर्वाचनमा माओवादी तेस्रो ठूलो दलको रूपमा सशक्त देखिएकाले पनि यो गठबन्धन गर्न एमाले तयार रहेको सो अन्तर्वार्ताबाट बुझ्न सकिन्छ ।

निर्वाचनको अपूर्व सफलतापछि पहिले एमाले तथा माओवादी केन्द्रबीच एकीकरण हुन्छ वा सरकार बन्छ भन्ने विषयमा भने दाहालले स्पष्ट जवाफ दिएका छैनन् ।

निर्वाचनको सबै परिणाम आइसकेपछि पार्टीको एकता संयोजन समिति तुरुन्तै बसेर निर्णय लिने उनले बताएका छन् ।

तर, पार्टी एकीकरण नभए पनि पार्टी एकताको सम्पूर्ण योजना कार्यक्रम बनाएर सरकार बन्ने भनेर उनले सरकार पहिले बन्ने कुरामा पनि सहमति जनाएको देखिन्छ ।

तथापि, पार्टी संयोजन समितिमा दुवै नेताको कार्यकारी भूमिका हुने भनेर दाहालले आफ्नो भूमिका कमजोर नहुने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टले दाहालसँग विशेष वार्ता प्रकाशित गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्