आफ्नै मन्त्रीले देउवाको राजीनामा मागे, अब देउवा के गर्छन् ?
काठमाडौँ, मंसिर २५
नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता प्रधानले प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्ने बताउनुभयो ।
“पार्टीको हारबारे सभापतिज्यूले तत्काल बैठक बोलाएर छलफल गरी राजीनामा दिँदा राम्रो हुन्छ”, प्रधानले भन्नुभयो ।
उहाँले नेतृत्वको बोलीमा परिवर्तन हुन नसक्नु, तराईका दललाई मिलाउन नसक्नु, पार्टीका तर्फबाट कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न नसक्नुजस्ता कारण पार्टीले पराजय भोग्नुपरेको विचार व्यक्त गर्दै आगामी दिनमा काँग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अर्को प्रसङ्गमा रक्षामन्त्री प्रधानले तराईमा देखिएका समस्या समाधान गरी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य सफलता भएको जिकिर गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं ६ बाट नवनिर्वाचित सांसदसमेत बन्नुभएका प्रधानले संसद्मा काँग्रेस सम्मानजनक प्रतिपक्षमा बस्ने बताउनुभयो । रासस
प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार