६७ औं मुक्ति दिवस मनाइयो, रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको माग


 


काठमाडौ, मंसिर २४
रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ६७औं मुक्ति दिवस मनाइएको छ । प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ बिनारक्तपात भोजपुर कब्जा गरेर राणा शासकलाई धक्का दिएको स्मरणमा प्रतिष्ठानले बर्सेनि मुक्ति दिवस मनाउँदै आएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले सात सालको क्रान्तिमा रामप्रसादले पुर्याएको योगदान उजागर गर्न जरुरी रहेको बताए ।

विगतमा नारदमुनि थुलुङलाई राजनीतिक र रामप्रसादलाई फौजी कमान्डर भनेर आफूले चिनेको उल्लेख गर्दै नेता नेपालले तर रामप्रसाद मुलुकलाई भिजन दिन सक्ने नेता रहेको पाएको सुनाए ।

‘रामप्रसाद राईले कांग्रेसको वैरगनिया सम्मेलनदेखि नै भारतीय विस्तारवादको विरोध गरेको देखिन्छ’, उनले भने, ‘जवाहरलाल नेहरुले कांग्रेसको अगुवाइमा सबै क्रान्तिमा लाग्नुपर्ने फर्मान जारी गरेपछि रामप्रसाद त्यसविरुद्ध उभिएका रहेछन् ।’

इतिहासविद् प्रा. डा. गोविन्दमान सिंह कार्कीले मुक्ति दिवसबारे धेरैलाई जानकारी नभएको उल्लेख गर्दै यो दिन राष्ट्रिय महत्वको रहेको सुनाए ।

‘क्रान्तिमा कब्जा गरेका क्षेत्र राणाले फर्काएपछि निराशा व्यक्त भइरहेका बेला भोजपुर कब्जा भएको थियो’, उनले भने, ‘भोजपुर कब्जा नगरेको भए त्यति चाँडै राणा शासन फालिन्नथ्यो । जहानियाँ राणा शासन ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।’

क्रान्तिमा रामप्रसादको योगदान र मुक्ति दिवसको औचित्यबारे टंकबहादुर राई, जय छाङ्छा, प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईलगायतले पनि बोलेका थिए । कार्यक्रममा चन्द्र रानाहँछा, वेदनाथ ढकाल, बिन्दु ढकाल, दीपक थापाले कविता सुनाएका थिए ।

प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्