डडेल्धुरामा २०४८ देखि २०७४ सम्म देउवाको एकछत्र राज, कति मतान्तरले जिते ?
डडेल्धुरा, मंसिर २४
डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो ।
देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो ।
माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित हुनुभएको हो । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिनुभएको थियो ।
देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आउनुभएको छ । डडेल्धुरामा उहाँले अहिले छैटौँ पटक चुनाव जित्नुभएको हो ।
उहाँले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जित्नुभएको थियो ।
यसैगरी प्रदेशसभामा डडेल्धुरा प्रदेश नं १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजय भोग्नुपरेको छ ।
प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार