भक्तपुर-२ मा महेश बस्नेतको टिम भारी मतले विजयी
भक्तपुर, मंसिर २४
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ ।
क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा (एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ ।
गएराति अबेर सम्पन्न मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी काँग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ ।
प्रदेशसभा १ मा (एमाले) का थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गर्नुभयो ।
एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाउनुभएको छ ।
यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ ।
एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा काँग्रेसका चक्रधरले ११ हजार ५३८ मा चित्त बुझाउनुभएको छ ।
प्रकाशित मिति: २४ मंसिर २०७४, आइतबार