ओखलढुंगा प्रतिनिधि सभामा सुनुवार, प्रदेश (क) मा गुरुङ विजयी


 


काठमाडौँ, मंसिर २३
ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गर्नुभएको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको शुरुवाती अग्रता लिनुभएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज सु्नुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुनुहुन्छ ।

विसं २०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।

ओखलढुंगामा एमालेको तीन पटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित हुनुभएको थियो ।

उहाँ विसं २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी हुनुभएको थियो । सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।

ओखलढुंगा प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । प्रदेश (ख) मा भने मतगणना भइरहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्