भोजपुरमा मतगणना हुनुअघि जान्ने पर्ने केही तथ्य


 


भोजपुर, मंसिर २१
अबका केही घण्टा पछि भोजपुरमा मतगणना शुरु हुँदैछ । बेलुका पाँच बजेदेखि मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । मतगणना हुनुअघि भोजपुरको चुनाव सम्बन्धि केही तथ्यहरु यस्ता छन् ।

भोजपुरमा कुल मतदाता १ लाख १३ हजार ८ सय ९१ जना छन् । इोत्र न १ मा ५८ हजार ४ सय ४९ र क्षेत्र नं २ मा ५५ हजार ४ सय ४२ छन् ।

प्रतिनिधि सभाका लागि भोजपुरमा ६५ हजार ९ सय ५८ मत खसेको छ । यहाँ ३३ हजार ४६ जना पुरुष र ३२ हजार ९ सय १२ महिलाले मतदान गरेका छन् । कुल मतदाता संख्याको तुलनामा मतदान गर्नेहरुको संख्या ५७.९ प्रतिशत हो ।

भोजपुरको षडान्द नगरपालिका ५ को आपँटारी ख मतदान केन्द्रमा सबैभन्दा धेरै मतदान भएको छ । यहाँ कुल मतदाताको ७६.७३ मतदान भएको थियो । ५९३ मतदाता रहेको यहाँ ४५५ जनाले मतदान गरेका थिए ।

त्यस्तै पौवादुङ्मा गाउँपालिका ४ को ख केन्द्रमा सबैभन्दा कम मतदान भएको थियो । यहाँ ७५२ मतदाता रहेकोमा ३१९ जनाले मात्र मतदान गरेका थिए । यो मतदान प्रतिशत भनेको ४२.४२ मात्र हो ।

प्रतिनिधि सभाका लागि यहाँ आठ वटा दलका उम्मेदवार छन् । यहाँ वाम गठबन्धनबाट माओवादी उम्मेदवार सुदन किराँती र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेशजंग रायमाझी छन् । मुख्यत: यी दुई उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालबाट ध्रुवराज राई, देशभक्त जनगणतान्त्तिक मोर्चा, नेपालबाट डिल्लीराम बोहरा, नयाँ शक्ति पार्टी नेपालबाट युवराज कट्वाल, नेकपा मालेबाट अनिल बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्रप्रसाद राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट केदार राई मेवाहाङ रहेका छन् ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं १ मा ३४ हजार ९ सय ५८ मत खसेको छ । यहाँ १७ हजार ७ सय ४६ पुरुष र १७ हजार २ सय १२ महिलाले मतदान गरेका छन् । यहाँ सातवटा दलका उम्मेदवार छन् ।

एमालेबाट राजेन्द्र कुमार राई र संघीय समाजवादी फोरम नेपालबाट अजम्बर राई काङमाङ छन् । यहाँको चुनावमा यी दुई जनाबीच नै प्रतिस्पर्धा रहेका छ ।

त्यस्तै जनसमाजवादी पार्टी, नेपालबाट पर्शु राम राई, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट आङ्डेण्डी शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनबाट मोजेज राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उत्तम राई उम्मेदवार छन् ।

त्यस्तै प्रदेश सभा क्षेत्र न. २ मा ३१ हजार मत खसेको छ । यहाँ १५ हजार ७ सय महिला र १५ हजार ३ सय पुरुषले मतदान गरेका छन् ।

यहाँ छ वटा दलका उम्मेदवारले चुनावमा भाग लिएका छन् । एमालेबाट शेरधन राई र कांग्रेसबाट गोबिन्दबहादुर कार्की रहेको छन् । यी दुईबीच नै यहाँ पनि प्रतिस्पर्धा छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट देव प्रसाद राई, नेकपा मालेबाट यादव कुमार पाण्डे, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालबाट सुवास राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितबहादुर राई रहेका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्