निर्वाचनको सम्पूर्ण तयारी पुरा, यस्तो छ मतदाताको सुरक्षा रणनीति


 


काठमाडौं, मंसिर २०
दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ ।

४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा अनुरोध गर्नुभएको छ ।

मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।

निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबै सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि ९० प्रतिशत जनशक्ति परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिने जनाएको छ । त्यस्तै सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन चुनावी सुरक्षाका लागि गरिनेछ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, हतियार र साधन स्रोतको परिचालन सम्पन्न भइसकेको छ ।

सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले जानकारी दिएका छन ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्