यसरी हुँदैछ भोजपुरमा मतगणनाको तयारी, कति दिनमा आउँला अन्तिम परिणाम ?


 


भोजपुर, मंसिर २०
मंसिर १० गते निर्वाचन भएको भोजपुरमा भोलिदेखि मतगणना शुरु हुने भएको छ । ४५ जिल्लामा भोलि हुने निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।

यसका लागि उम्मेदवार सहित सर्वदलीय छलफल हुँदैछ । पाँचबजेदेखि नै मतगणना शुरु हुने बताइएको छ । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा हुने भएको छ ।

मतपेटिका यही सुरक्षित भण्डारण गरेर राखिएको छ । मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडान गरिएको छ भने मतगणनास्थलमा रहने दलका प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ । मतगणना तीन ठाउँबाट हुने भएको छ ।

प्रतिनिधि सभाका लागि एउटा कोठामा दुई ठाउँबाट र प्रदेश सभाका लागि एक–एक ठाउँबाट गणना हुने पोखरेलले देशकोन्युजलाई जानकारी दिए । मतगणनाका अन्तिम नतिजा तीन दिन भित्र सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना हुने भएको छ । प्रतिनिधि सभाका लागि भोजपुरमा ५७.९ प्रतिशत अर्थात ६५ हजार नौ सय ५८ मत खसेको थियो । भोजपुरमा कुल मतदाता १ लाख १३ हजार आठ सय ९१ जना थिए ।

प्रदेश सभा क्षेत्र नं १ मा ५९.८१ प्रतिशत अर्थात ३४ हजार नौ सय ५८ मत खसेको थियो । यहाँ ५८ हजार चार सय ४९ मतदाता थिए ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं २ मा ५५. ९१ प्रतिशत अर्थात ३१ हजार मात्र मत खसेको छ । यहाँ ५५ हजार चार सय ४२ मतदाता थिए ।

भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धन र लोकतालिन्त्रक गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती र लोकतान्त्रिकका कांग्रेस उम्मेदवार उमेशजंग रायमाझीबीच प्रतिस्पर्धा छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं १ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका संघीय समाजवादी फोरम उम्मेदवार अजम्बर राई काङमाङबीच प्रतिस्पर्धा छ भने क्षेत्र नं २ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई र लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार गोबिन्दबहादुर कार्कीले प्रतिस्पर्धा गर्देछन् ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्