सिधा यातायात सुरु भएपछि दैनिक उपभोग्य वस्तुको मुल्य घटाइयो


 


खोटाङ, मङ्सिर २०

सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य घटाइएको छ ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा रहेको दूधकोसी नदीमा मोटरेबल पक्की पुल बने लगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य घटाएको हो ।

निर्माण कार्य थालिएको नौं वषपछि जयरामघाटस्थित दूधकोसीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्याँस, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुन लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य घटाइएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मुल्य प्रतिकेजी ५ देखि १० रुपैयाँ घटाइएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

मुल्य घटाइएसँगै जिल्लामा एक हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदै आएको खाना पकाउने एलपी ग्याँस अहिले एक हजार ५०० मा पाइने भएको छ । सिधा यातायात सुरु भएसँगै जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य घटाइएपछि उपभोक्तालाई सहज भएको छ ।

सङ्घले एमआरपी उल्लेखित उपभोग्य दैनिक वस्तुलाई सोभन्दा बढी मुल्यमा बिक्रीवितरण नगर्न जिल्लाका व्यवसायीलाई सचेत गराएको छ ।

वार्षिक ६० लाख राज्यकोषको रमक खर्च गरेर अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको मध्यपहाडी लोकमार्गमा पर्ने दूधकोसीमा नौं वर्ष लगाएर बनाइएको पक्की पुल भर्खरै सञ्चालनमा ल्याइएको छ ।

ठेकेदारको कम्पनीको लापरवाहीले पुल निर्माणमा ढिलाइ हुँदा छ वर्षसम्म दूधकोसीमा अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो । सुरुमा राखिएको फेरी बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलिब्रिज राख्न थालिएको हो ।

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्