दिक्तेल–भोजपुर सिधा यातायात सञ्चालनमा


 


खोटाङ,  मंसिर १९

सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ ।

वर्षादको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो ।

करिब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताउनुभयो ।

गत वर्षदेखि सिधा यातायात शुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।

हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडकखण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो ।

सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रको काम पनि तीव्र गतिमा भइरहेको छ ।

तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुङ्गा फोर्नेलगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो ।

करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्