निर्वाचनका लागि सबै तयारी पूरा


 


भद्रपुर, मंसिर  १९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लामा सुरक्षालगायतका सम्पूर्ण तयारी भइसकेको जनाइएको छ ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका र उनीहरुले सम्पादन गर्नुपर्ने कार्य पनि तीव्र गतिमा गरिरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । उहाँले सुरक्षाका निम्ति केही चुनौती भए पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरिसकेकाले मतदातालाई मतदान केन्द्रमा निर्भयका साथ मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापामा महिला मतदाता दुई लाख ९६ हजार ३६२ र तेस्रोलिंगी नौजना छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभातर्फ ५७ प्रदेशसभातर्फ ८४ जना उम्मेदवार चुनावी मैदान उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ दुई महिला र प्रदेशसभातर्फ चार महिला उम्मेदवार छन् भने प्रतिनिधिसभातर्फ सात स्वतन्त्र उम्मेदवार र प्रदेशसभातर्फ छजना स्वतन्त्र उम्मेदवार छन् ।

निर्वाचनलाई व्यवस्थित बनाउन झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएकामा ३९ अतिसंवेदनशील, १०४ संवेदनशील र १३० वटालाई समान्य अवस्थामा रहेकाले सोही अनुसार सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।


सुरक्षाको प्रबन्ध निकै बलियो बनाइएकाले जनताले निर्भिकताका साथ आ–आफ्ना मतदान केन्द्रमा गएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

एक मतदान केन्द्रमा आठजना कर्मचारी रहने व्यवस्था मिलाइएको छ । जिल्लामा निर्वाचनलाई धाँधलीरहित, व्यवस्थित, निष्पक्ष बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा संयोजक रहने गरी अनुगमन समिति बनाएको छ ।

निर्वाचन क्षेत्र नं १ मा कृष्णचन्द्र पौडेल, २ मा पदम कार्की, ३ मा प्रेमप्रसाद न्यौपाने, ४ मा ज्ञानेन्द्र ओझा र ५ मा खेमराज ओझालाई अनुगमनका लागि जिम्मेवारी प्रदान गरेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनुभयो ।

निर्वाचनका बिषयमा गौरीगञ्ज निवासी विजय अग्रवालले जनताबाट छानिएका प्रतिनिधिबाट निर्माण भएको संविधानपछि पहिलो पटक हुन लागेको यो निर्वाचनले नेपाली जनताको भाग्य खोल्ने धारणा व्यक्त गर्नुभयोे ।

कुमरखोद निवासी लखिकुमारी गणेशले मुलुकमा समृद्धि र विकासको ढोका खोल्ने यो निर्वाचनका लागि हामी अत्यन्त उत्साहित एवं हौसिएका छौँ अब नेपाल विकासमा पछि पर्नु हँुदैन भन्नुभयो ।

मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहालले जनताले चाहेको विकास र समृद्धिका निम्ति यो निर्वाचन कोशेढुंगा साबित हुनेमा जोड दिनुभयो ।

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्