१९ वर्षपछि महासंघको भवन बन्दै


 


बागलुङ,  मंसिर १९

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण ५० प्रतिशत पूरा भएको छ ।
चालु आवभित्र रु एक करोडको लागतमा तीनतले भवन निर्माण गरिने योजना रहेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो ।
बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाकक्षलगायत संरचना बन्नेछन् ।

भवन निर्माणका लागि शाखाले गत वैशाखदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामको आर्थिक अभियान चलाएको छ । अभियानबाट हालसम्म रु ३० लाख संकलन भएको शाखाले जनाएको छ ।

महासंघका पदाधिकारी, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पार्षद्, प्रादेशिक पार्षद् र साधारण सदस्यबाट मात्र रु सात लाख संकलन भएको छ । तत्कालीन जिविस र बागलुङ नगरपालिकाले पनि बजेट विनियोजन गरेका छन् । जिल्लामा रहेका १० वटै स्थानीय तहबाट पनि भवन निर्माणमा रु ३० लाख आर्थिक सहयोग जुटेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।

सूचना तथा सञ्चार, अर्थ मन्त्रालयलगायत निकायमा पनि सहयोगका लागि समन्वय भइरहेको शिरीषले बताउनुभयो । विदेशमा रहेका नेपालीले पनि स्वेच्छिक रुपमा सहयोग गरिरहेका छन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि १९ वर्षअघि स्थापित महासंघ शाखा भवन निर्माणले गति लिएको हो ।

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्