माघ १५ भित्र यसरी बन्नेछ नयाँ सरकार


 


काठमाडौं, मंसिर १९
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ ।

चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई मतपरिणाम आएपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक व्यवस्थाअनुसार अब संसद् सदस्य नभएका व्यक्तिले प्रधानमन्त्री बन्न पाउने छैनन् । नयाँ सरकार गठनका लागि निर्वाचन परिणाम आइसक्नु पहिलो शर्त हुनेछ ।

संविधानको धारा ७६ को व्यवस्थाअनुसार निर्वाचनको अन्तिम परिणाम आएको बढीमा ३५ दिनभित्र नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आँकलन छ ।

यसअघि २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि समानुपातिकसहित सबै मत परिणाम आउन तीन साता लागेको थियो । पुस १० भित्र मत परिणाम आइसकेपछि ढिलामा माघ १५ भित्र नयाँ सरकार बनिसक्नेछ ।

संविधानको धारा ७६९८० बमोजिम निर्वाचनको सम्पूर्ण मत परिणामा आएको ३५ दिनभित्र प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न गर्नुपर्छ । संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

बहुमत नआए दुई वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । नयाँ पत्रिका

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्