सुनसरी–४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अवस्था कस्तो छ ?


 


सुनसरी, मंसिर १७
यतिबेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका बारेमा दुईवटा कुरा चर्चामा छन् । एक, भोजपुरमा सहज जित हुँदाहुँदै कार्कीले सुनसरी किन रोजे ? दुई, बरु प्रधानमन्त्री शेरबहादुर देउवा हार्लान कार्की हार्देनन् ।

हो, भोजपुरमा कार्कीका लागि यो पटक निकै सहज थियो । तर कार्की भोजपुरमा आफू नउठेर उमेशजंग रायमाझीलाई टिकट दिए । कार्की भोजपुरमा उठेका भए उनले जित्ने आधार धेरै थिए ।

एक त उनि बहालवाला अर्थमन्त्री थिए, जसले भोजपुरको विकासमा धेरै अर्थ राख्थ्यो । दोस्रो उनि भोजपुरका लागि सबैभन्दा हेभिवेट उम्मेदवार हुने थिए । तेस्रो आफ्नो आधार इलाका भोजपुरको क्षेत्र नं १ मा रहेका सबै स्थानीय तह कांग्रेसले जितेको थियो । चौथो भोजपुरको सबैभन्दा ठूलो दल एमालेले प्रतिनिधि सभामा उम्मेदवारी दिएको थिएन ।

यी प्रमुख चार कारणले कार्कीका लागि भोजपुर सहज थियो । तर आखिर उनले सुनसरी किन रोजे ? हामीले यहाँ विश्लेषण गर्ने प्रयास गरेका छौं ।

कार्की सुनसरीमा उठ्ने तयारी तत्काल गरेका होइनन् । उनले पूर्वतयारीका साथ यहाँ उम्मेदवारी दिएका हुन् ।

अर्थमन्त्री हुँदा वा अगाडि यो क्षेत्रमा उनले विकासका बजेटहरु लगानी गर्न थालेका थिए । त्यतिमात्र होइन यहाँको क्षेत्र निर्धारणमा समेत कार्कीले विशेष ध्यान दिएका थिए ।

यो क्षेत्रमा धेरैजसो पहाड –भोजपुर, संखुवासभा, खोटाङ लगायतका जिल्लाहरुबाट मानिसहरु बसाइ सरेका आएकाहरुको बस्ती छ ।

यो क्षेत्र कांग्रेसको निकै सुरक्षित क्षेत्र मानिन्छ । गिरिजाप्रसाद कोइराला समेत यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

अधिकांश ठाउँमा कांग्रेस र उपेन्द्र यादवको फोरम आम्ने साम्ने भइरहदा यहाँ भने फोरमले कार्कीलाई सघाएको छ । एमालेले पनि बलियो उम्मेदवार मानिएका जगदिश कुसियातलार्इ प्रदेशमा उठाएर रमेश श्रेष्ठलाई टिकट दिएको छ ।

यसअघि देखि केही महिना अघि सम्पन्न भएको स्थानीय तहको पछिल्लो जनमतलाई आधार मानेर हेर्ने हो भने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका अर्थमन्त्री कार्कीको पक्षमा सात हजार बढी मत देखिन्छ ।

जबकी देशभर एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको मत अधिकांश निर्वाचन क्षेत्रमा बढी छ । यो मात्र एउटा यस्तो निर्वाचन क्षेत्र हो, जहाँ सात हजार बढी मत कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धनको पक्षमा छ ।

यहाँ एमाले र माओवादीको गठबन्धन छ भने कांग्रेस सहित संघीय समाजवादी फोरम, राप्रपा र भर्खरै कांग्रेस प्रवेश गरेका विजय गच्छदारको फोरम लोकतान्त्रिकको एकीकरणले कार्कीकै पक्षमा मत थपिएको छ ।

स्थानीय तहको निर्वाचन नतिजाअनुसार वाम गठबन्धनको पक्षमा २५ हजार १९३ मत रहेको छ । त्यस्तै कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा ३२ हजार १७१ मत देखिन्छ । यो मतको अन्तर भनेको झण्डै सात हजार हो ।

सुनसरी क्षेत्र नं ४ अन्तर्गत रामधुनी नगरपालिकाको वडा नं.४, बराह नगरपालिका वडा नं. ६, ७, ८, ९, १०, ११, इनरुवा नगरपालिका वडा नं. ३, ४, ८, भोक्राहा गाउँपालिका, कोशी गाउँपालिका, हरिनगरा गाउँपालिका वडा नं. १, २, ४, ५, ६, ७ रहेका छन् । यहाँ १ लाख ११ हजार ४९० मतदाता रहेका छन् ।

सुनसरीमा एमाले माओवादीको गठबन्धन एकतर्फ छ भने कांग्रेस, संघीय समाजवादी फोरम, राप्रपाको संयुक्त उमेदवारी दिएका छन् ।

स्थानीय चुनावमा छुट्टै पार्टीका रुपमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि कांग्रेसमै एकीकरण भएपछि उसको पक्षको मत पनि कांग्रेस उमेदवार कार्कीकै पक्षमा जोडिन आउँछ ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्