आखिर को हुन् गौचन हत्याका मुख्य योजनाकार बस्न्यात ? यस्तो रहेछ हत्याको कारण


 


काठमाडौँ, मंसिर १७
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा शनिबार चितवनको नारायणघाटबाट बस्न्यातलाई पक्राउ गरेको हो ।

बस्न्यात काठमाडौं १३ बाफलका हुन् । २४ वर्षका बस्नेत कुमार घैंटे चरी इन्काउन्टरमा मारिएपछि भारत पलायन भएका हुन् ।

२ वर्ष ६ महिनादेखि उनी नेपालमा थिएनन् । भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दथे।

आफ्नै साथीलाई प्रहरीले मारेको भन्दै त्यसको जवाफ फर्काउने चेतावनीसहित उनी भारत पसेर नेपालमा आपराधिक क्रियाकलाप गर्दथे । सुरूमा साना ठेक्कापट्टाबाट उनी गुण्डागर्दी सम्लग्न भएको प्रहरीले जनाएको छ ।

सबैभन्दा पहिले ८ वर्षअघि उनी, दिनेश अधिकारी चरी र राधे भण्डारी मिलेर ठेक्कापट्टामा लागेका थिए । पछि लेनदेनको विषयमा चरी र घैंटेबीच विवाद भयो । त्यसपछि घैंटेले राधे र समिरलाई लिएर चरीलाई एक्लै बनाए ।

त्यसपछि गुन्डानाइके रमेश बाहुन गुण्डागर्दीमा सम्लग्न भए । रमेश र समिर मिलेर काम गर्न थाले । उनीहरूबीच पनि लेनदेनका विषयमा झगडा भयो। समिरले रमेशको पोल्टीफार्ममा गएर गोली हाने ।

पछि समिरले प्रहरीमा फरार सूचीमा रहेका युवाहरू भेटेर आफ्नो समूहमा ल्याए। घैंटेसँग मिलेर निर्माण क्षेत्रमा केही रकम हाले। त्यसैताका घैंटे इन्काउन्टरमा मारिए।

प्रहरीले घैंटेका मित भन्दै उनलाई पनि खोज्न थाल्यो। प्रहरीमा राम्रो पडक बनाएका समिर एक जना आफन्त डिएसपीको सुराकीमा लुक्न भारत पुगे । भारतमा मनोज पुनसँग उनको भेट भयो।

ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन गरी रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, दावा लामामाथिको गोली प्रहार र निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार बन्स्यातलाई पक्राउ गरको जानकारी दिएको हो ।

सम्मेलनमा ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा कुमार श्रेष्ठ (घैँटे) र समिरमानसिंह दुवैको शेयर रहेको र घैँटेको निधनपछि बाँकी रहेको शेयर माग्दा नदिएपछि गौचनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो ।

गौचनले घैँटेसँग दुई करोड ५० लाख रकम लिएको र उक्त रकममध्ये बस्न्यातले आफ्नो रु एक करोड भएको दाबी गरेका थिए । यस्तै वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन दुई प्रतिशत मागेकामा गौचनले बेवास्ता गरेपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको कार्कीले बताउनुभयो ।

तिवारीको हत्या २०७३ पुस ४ भएको थियो र लामालाई २०७३ चैत २९ गोली हानिएको थियो । गौचनको हत्या यही असोज २३ गते गरिएको थियो ।

गौचनको हत्या आरोपमा अहिलेसम्म प्रहरीले मुख्य योजनाकार बस्न्यातसहित वसन्त थेवे, राजिव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ भने मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।

प्रकाशित मिति: १७ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्