दुई महिलाको शंकास्पद मृत्यु


 


इलाम, मंसिर १६
फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् ।

सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ ।

सन्चुको मृत्यु भएको नजिक गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको ढुङ्ग्री (सोते) भेटिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवीबहादुर कार्कीले जानकारी दिनुभयो ।

सन्चुको शव रहेको घटनास्थलको सर्जिमिन सकिएलगतै उनकै भतिजा बुहारी पर्ने सोही स्थानकी ३४ वर्षीया बिमला राई पनि उनकै घरमा झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।

नाताले काकी सासु र भतिजा बुहारी पर्ने दुवैको मृत्यु भएपछि घटनाको अनुसन्धान भइरहेको इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

मृतक दुवैको शवपरीक्षण भइसकेको छ । प्रहरीका अनुसार सन्चु र बिमलाको एकवर्ष अघि झगडा भएको थियो ।

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्