कैलाली ५ मा आरजुले पार लगाउँलिन, कस्ता छन् उनका प्रतिस्पर्धी ?


 


धनगढी, मंसिर १६

पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिनुभएको छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नं ७ मै निकै उत्सुकतासाथ हेरिएको छ ।

यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी हुनुभएको थियो ।

त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले मारेको विजयले डा राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ ।

विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नंं ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसक्नुभएकी डा राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहनुभएको छ ।

उहाँले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत हुनुभएकी डा राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्नुहन्छ ।  विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गर्नुभयो ।

निराश छैनन् नारदमुनि

हेभीवेट उम्मेदवारका रुपमा हेरिएकी डा राणालाई वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले कडा चुनौती दिइरहनुभएको छ ।

विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी र २०६४ सालमा समानुपातिक सांसद् रहनुभएका रानालाई वाम गठबन्धनको दरिलो साथ रहेको छ ।

साथै, उहाँलाई जातिगत हिसाबले थारु समुदायको पनि साथ रहने वाम गठबन्धका नेताहरूको भनाइ छ । यद्यपि सो समुदायमा आफूहरूको पनि संगठन बलियो रहेको काँग्रेस नेताहरूको दाबी छ ।

धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सघन सहरी विकास कार्यक्रमको कार्यन्वयन, धनगढीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रको विकास, नदी नियन्त्रणलगायतका कार्यक्रमसहित राना चुनावी मैदानमा हुनुहन्छ ।

धनगढीलाई थारु समुदायको भाषा, साहित्य र संस्कृतिको अध्ययनको गन्तव्य बनाउने आश्वासनसहित उहाँका जातीय मत तान्ने राणनीतिमा समेत हुनुहुन्छ ।
रानाले भन्नुभयो, म यहीँ जन्मे हुर्केको र सबैसँग घुलमिल रहेकाले चुनावी नतिजा मेरै पक्षमा आउनेछ ।”

यहाँ सांगठनिकरुपले एमालेको अवस्था बलियो रहेको र विभाजनका कारण माओवादी केन्द्रको अवस्था केही कमजोर भए पनि दुवैको मत जोड्दा गठबन्धन नै अगाडि रहेकाले पनि जित सुनिश्चित रहेको दाबी उहाँको छ ।

दुई बलिया गठबन्धनको चुनावी भिडन्त जबर्जस्त हुने आंकलन गरिएका बेला यसै क्षेत्रमा विवकेशील साझा पार्टीले अघि सारेका उम्मेदवार ओझिलो उम्मेदवार हुनुुहुन्छ ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै विवेकशील साझा पार्टीबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका दिनेश भण्डारीलाई यहाँका प्रतिष्ठित व्यापारी गोपाल हमालको दरिलो साथ छ ।

गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका हमालले पाएको सम्मानजनक मत विवकेशील साझा पार्टीले आफ्नौ पक्षमा आउने दाबी गरेको छ ।

उक्त निर्वाचनमा दोस्रो स्थानमा मत ल्याउन सफल हुनुभएका हमाल हालै विवेकशील साझा पार्टीका ७ नंं प्रदेशको नेतृत्व सम्हाल्नुभएको छ ।

कूल ९१ हजार ८१८ मतदाता रहेको कैलाली–५ मा प्रतिनिधिसभामा आठजना उम्मेदवार रहनुभएको छ ।

यसै निर्वाचन क्षेत्रका विभिन्न पार्टीबाट दुई पदका लागि १६ जना उम्मेदवार चुनावी मैदान रहे पनि मुख्य प्रतिष्पर्धा भने वाम र लोकतान्त्रिक गठबन्धनबीच हुने देखिएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्