४ महिनामा ३१ जनामा एचआइभी संक्रमण


 


धनगढी,  मंसिर १५

एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन् ।

सेती अञ्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अञ्चल अस्पताल र टीकापुरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा ५५१ जनाको रगत परीक्षण गरिएको थियो ।

गत वर्ष यी दुवै सेन्टरमा एक हजार ८५७ जनाको रगत परीक्षण गरिएकामा ११७ जना संक्रमित भएको फेला परेको थियो । कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा पछिल्लो एक दशक यता (सन् २००६ देखि हाल सम्म) एचआइभी संक्रमितको संख्या तीन हजार ४०३ पुगेकोमा दुई हजार ३७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ ।


हाल एआरटी क्लिनिकमार्फत एक हजार १८९ संक्रमितले सेवा लिइरहेका छन् । एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका छन् ।

यसैबीच यस वर्षको विश्व एड्स दिवस कैलालीमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ । अन्तरक्रिया, हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, एचआइभी परीक्षण, सूचना संदेश प्रसारणलगायतका चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्