एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिपका लागि २२ सदस्यीय खेलाडी छनोट


 


काठमाडौँ, मंसिर १५
थाइल्याण्डमा यही मंसिर २५ गतेदेखि शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि २२ सदस्यीय खेलाडीको घोषणा भएको छ ।

एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक एवं राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको नेतृत्वमा प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले दोस्रो चरणमा २२ सदस्यीय खेलाडी छनोट गरेको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिनुभयो ।

फाउन्डेसनको आयोजनामा भएको प्रतिभा खोजअन्तर्गत पहिलो चरणमा नेपाल क्रिकेट संघ (क्यान) का सबै नौै क्षेत्रबाट चार जनाका दरले ३६ खेलाडी छनोट गरिएको थियो ।

त्यस्तै छनोट भएका ३६ खेलाडीमा राम्रो क्षमता बोकेका अरु नौ खेलाडी थपेर ४५ जनालाई पहिलो चरणको प्रशिक्षण शिविरमा राखिएको थियो ।

यता काठमाडौँमा मंसिर ७ गतेबाट पहिलो चरणको प्रशिक्षण शिविर मूलपानी क्रिकेट मैदानमा भएको थियो । पहिलो चरणको शिविरबाट उक्त २२ सदस्यीय खेलाडी छनोट गरिएको हो ।

छनोट भएका खेलाडीलाई प्रशिक्षकले मंसिर २२ गतेसम्म कीर्तिपुर मैदानमा विशेष प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।

उक्त छनोट हुने खेलाडीमध्येबाट चार वैकल्पिकसहित १८ सदस्यीय खेलाडी उक्त प्रतियोगिताका लागि छानिने छन् । छनोट हुने टोली यही मंसिर २३ मा थाइल्याण्ड प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्