रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै


 


रुकुम, मंसिर १५

गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा शुक्रबार १५ गते पुनःमतदान हुने भएको छ ।

मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा पुनः मतदान सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानका लागि मतदान अधिकृतलगायतका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको बताएको छ । निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिनुभयो ।

बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने उहाँले बताउनुभयो ।

दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहनुभएका तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबिसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिनुभएको छ ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो । आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो ।

एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मतदानमा काँग्रेसमा सहभागी नहुने

गत १० गते मतदान स्थगित भएको रुकुम (पश्चिम) का दुई मतदानस्थलमध्ये काँग्रेसले आठबिसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मतदानस्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ ।

आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म भोलि १५ गते पुनःमतदानमा सहभागी नहुने बताएको हो ।

गत १० गते मतदानका क्रममा काँग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिका रुपमा बस्नुभएका केशवबहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खड्कालाई बिनाकारण फसाइएको भन्दै काँग्रेस आठबिसकोट नगरपालिकाले उहाँको रिहाइको माग गर्दै रिहाइ नगरिए शुक्रबार हुने मतदानमा सहभागी नहुने निर्णय गरेको नेपाली काँग्रेस आठबिसकोट नगरपालिकाका संयोजक कमल शाहले जानकारी दिनुभयो ।

पार्टीको स्थानीय तहले मतदानमा सहभागी हुने निर्णय गरे पनि यसबारेमा अन्तिम निर्णय आज साँझसम्म हुने काँग्रेस रुकुम (पश्चिम) ले जनाएको छ ।

यसबारेमा छलफल गर्न जिल्ला सभापति प्रेमप्रकाश ओलीसहितको टोली आठबिसकोटतर्फ गएको छ । आठबिसकोट पुगेर स्थानीय पार्टी समितिसँग छलफल गरेर यसबारेमा अन्तिम निर्णय हुने जिल्ला सभापति ओलीले जानकारी दिनुभयो ।

मतदानका विषयमा छलफल गर्न आज बोलाइएको सर्वदलीय बैठकमा काँग्रेस सहभागी भएको छैन । काँग्रेस सहभागी नभएपछि अन्य दलको सहभागितामा बैठक बसेको मतदान अधिकृत कर्णबहादुर कँुवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्