साख फर्काउने दाउमा भट्ट, विरासत जोगाउने कसरतमा भण्डारी


 


धनगढी,  मंसिर १४

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलाली निर्वाचन क्षेत्र ४ मा दुई ठूला नेताले साख फर्काउन र विरासत जोगाउन घरदैलोमा मत माग्नमा व्यस्त हुनुुहुन्छ ।

पहिलो संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्ट दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार हुनुभएका उहाँले अहिले पहिलो संविधानसभाकै साख फर्काउन तल्लीन हुनुभएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनिलकुमार भण्डारी अघिल्लो पटक पार्टीका जितलाई जोगाउन तल्लीन हुनुहुन्छ ।

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा रहेका नेता भट्ट र नेपाली काँग्रेसका नेता भण्डारीको ‘भोट बैंक’ एउटै जाति वर्ग रहेकाले पनि यी दुई नेताबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको गोदावरी नगरपालिकाका स्थानीय भक्त भण्डारीले बताउनुभयो ।

दुवै उम्मेदवारको ‘भोट बैंक’ एउटै समुदाय रहेको अवस्थामा जसले बढी मत तान्न सक्यो उसैले जित्ने विश्लेषण गर्न थालिएको हो ।

यो निर्वाचन क्षेत्रमा राजनीतिक नेता कार्यकर्ताबाहेक अधिकांश मतदाता राजनीतिक सिद्धान्तका आधारमा नभई आफन्त र इष्टमित्रसहित जातीय र भेगिएरुपमा बाँडिने गरेका छन् ।

डोटीको दक्षिणी क्षेत्रबाट बसाइँ सरी आएका बासिन्दा यी दुई नेताका ‘भोट बैंक’ हुन् । यस्तो अवस्थामा डडेलधुरा, बझाङबाट बसाइँ सरी आएका बासिन्दा र स्थानीय चौधरी समुदायका बासिन्दा चुनावको विजय पराजयमा निर्णायक हुन लागेको चर्चा चलेको स्थानीय शेखर जोशी बताउनुहुन्छ ।

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्जसमेत रहेका नेता भट्ट २०६४ सालपछि दुई पटक मन्त्री भइसक्नुभएको छ । यसअघि २०६४ सालको पहिलो संविधानभामा कैलाली ५ बाट विजयी हुनुभएको थियो भने २०७० सालमा सोही क्षेत्रबाट नेपाली काँग्रेसका दीर्घराज भाटसँग उहाँ पराजित हुनुभएको थियो ।

यता नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हुँदा चर्चित गर्भपतनसम्बन्धी कानुन निर्माणमा महत्वपूर्ण योगदान दिएका काँग्रेसका पूर्वकेन्द्रीय सदस्य र राष्ट्रिय सभा सांसदसमेत रहिसक्नुभएका नेता भण्डारी पहिलो पटक प्रत्यक्ष चुनावमा होमिनुभएको छ ।

यो क्षेत्रमा पर्ने तीनवटा स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने लोकतन्त्रिक गठबन्धन भन्दा नेकपा (एमाले)– नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनको मत झण्डै १५ हजारभन्दा बढी छ । यो क्षेत्रका स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरम (लोकतान्त्रिक) र राप्रपाका प्रमुखका प्रत्यासीले एक हजार ६२४ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा टिकट वितरणलाई लिएर काँग्रेसभित्र भएको असन्तुष्टिको फाइदा लिँदै एमालेले यो निर्वाचन क्षेत्रमा रहेका तीनवटा स्थानीय तह गोदावरी नपा, गौरीगंगा नपा र चुरे गाउँपालिकाको निर्वाचनमा विजयी बनेको थियो ।

वाम गठबन्धन बनाएर चुनावमा होमिएकाले यो गठबन्धनमा आबद्ध नेता कार्यकर्ताहरू आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा काँग्रेसका स्थानीय नेता स्थानीय चुनावका बेला विपक्षमा मतदान गर्ने मतदातालाई रिझाउँदै बाजी मार्ने कसरतमा जुटेका छन् ।

प्रतिनिधिसभा सदस्यमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहँदा उहाँहरूलाई नयाँ शक्ति पार्टीका उम्मेदवार खड्कबहादुर साउद र स्वतन्त्र उम्मेदवार गीता क्षेत्री राणाको चुनौती छ ।

साउद र क्षेत्रीले पाउने मतका आधारमा चुनावी नतिजा प्रभावित हुन सक्ने भएकाले पनि ठूला दलका यी नेताका लागि चुनौती थपिएको मतदाताको आँकलन छ ।

नयाँ शाक्तिबाट उम्मेदवार हुनुभएका साउद तीन वर्षअघिसम्म एमालेमा हुनुहुन्थ्यो भने स्वतन्त्र उम्मेदवार क्षेत्री नेपालको शैक्षिक क्षेत्रकी चर्चित महिला हुनुहुन्छ । यो क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका टंकप्रसाद कोइराला, राष्ट्रिय जनमोर्चाका लछीराम आचार्य, विवेकशील साझा पार्टीका विनोद मल्ल पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य (क) का उम्मेदवार एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी र काँग्रेसबाट मुक्त कमैया आन्दोलनका नेता यज्ञराज चौधरी तथा प्रदेशसभा (ख) का उम्मेदवार एमालेका कृष्ण सुवेदी र काँग्रेसका हीरादत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने भएको देखिन्छ । यी उम्मेदवारबाहेक प्रदेशसभा सदस्य (ख) मा स्वतन्त्र उम्मेदवार गणेश खड्का, विवेकशील साझा पार्टीका यज्ञराज हमाल, नयाँ शक्तिका रणबहादुर खड्का, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका लोकबहादुर विक, राजमोका शेरबहादुर लुहार र प्रदेशसभा सदस्य (क) मा राजमोका खगेन्द्र बुढा, संघीय समाजवादी फोरमका तेज तरामीमगर, विवेकशील साझाका धनबहादुर बोगटी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका भगवति सिंह पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।

गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गापाको ५ नं वडा पर्ने यो निर्वाचन क्षेत्रमा बाहुन, क्षेत्री, दलित, चौधरी र मगर समुदायको मुख्य बसोवास छ ।

नदी कटानका साथै उचित सडक, खानेपानी, स्वास्थ्य सेवालगायतको समस्या रहेको यो निर्वाचन क्षेत्रमा कुल मतदाता ९३ हजार ३८४ छन् ।रासस

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्