राष्ट्र बैंकले लगायो मोबाइल बैंकिङमा अंकुश, अब कति रुपैंयासम्म ट्रान्सफर गर्न सकिन्छ ?
काठमाडौं, मंसिर १४
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ ।
राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ ।
इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम १ लाख र मासिक ५ लाख रुपैयाँसम्मको मात्र कारोबार गर्न पाइने र यही माध्यमबाट ट्रान्सफर गर्दा दैनिक १ लाख र मासिक १० लाख रुपैयाँको सीमा प्रस्ताव गरेको हो ।
त्यस्तै राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने प्रस्ताव गरेको हो ।
डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम पाँच सयदेखि अधिकतम पच्चीस हजारसम्म झिक्न पाइने प्रस्ताव पनि राष्ट्र बैंकले गरेको छ ।
यस्तो कारोवार प्रति दिन चार पटकसम्म र अधिकतम एक लाखसम्म कारोवार गर्न पाइने मस्यौदामा उल्लेख गरिएको छ ।
एजेन्ट वा सब एजेन्टमार्फत मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजार सम्म गर्न सकिने प्रस्ताव गरिएको हो ।
मस्यौदा अनुसार प्रति दिन अधिकतम पन्ध्र हजार र मासिक अधिकतम पच्चिस हजारसम्म रकम जम्मा गर्न सकिने छ ।
यिनीहरुमार्फत भुक्तानी गर्दा भने एक पटकमा अधिकतम पांँच हजार, प्रति दिन पन्ध्र हजार र मासिक अधिकतम पच्चीस हजारभन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन ।
कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालयरकलेज) स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बील बमोजिमको रकम पनि वालेटबाट भुक्तानी गर्न सकिने छ ।
तर, यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्नेछ ।
प्रकाशित मिति: १४ मंसिर २०७४, बिहिबार