सीएसएमआर विशेष रिपोर्ट : पाँच पूर्वप्रधानमन्त्रीसहित के कस्ता छन् हाम्रा उम्मेदवार ?


 


काठमाडौ‌ं, मं‌सिर ११

संविधान निर्माणपछि हुन लागेको संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना, प्रदेशसभामा ३३० जना र केन्द्रीय संघमा समानुपातिकतर्फ ११०, प्रदेशमा २२० सांसद्का लागि प्रतिस्पर्धा हुँदैछ ।

जसमध्ये पहिलो चरणको निर्वाचन आइतबार (मंसिर १० गते) ३२ हिमाली तथा उच्च पहाडी जिल्लाका ३७ प्रतिनिधिसभा तथा ७४ प्रदेशसभा क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ ।

मिडियासम्बन्धी रिसर्च तथा अध्ययन गर्दै आएको सेन्टर फर मिडिया रिसर्च नेपाल (सीएसएमआर)ले तयार पारेको विशेष रिपोर्टले निर्वाचनमा होमिएका विभिन्न उमेदवार बारे उल्लेख गरिएको छ ।

यो प्रतिस्पर्धामा प्रधानमन्त्रीसहित पाँच पूर्व प्रधानमन्त्री, दर्जन बढी उपप्रधानमन्त्री र दर्जनौ मन्त्रीहरु चुनावी मैदानमा छन् । निर्वाचनमा विभिन्न व्यावसायी, ठेकेदारका साथै विवादस्पद व्यक्तिहरु समेत प्रतिस्पर्धामा छन् ।

पाँच पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री मैदानमा

नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यसपटक पनि चुनावी मैदानमा छन् । उनी झापा ५ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । २०७० को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचनमा उठेका थिए । उनी २०६४ को निर्वाचनमा पराजित भएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् । यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार भएका थिए ।

काठमाडौं १० बाट पराजित भएका प्रचण्ड सिराह ५ बाट विजयी भएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभामा उनी रोल्पा २ र काठमाडौं १० बाट विजयी भएका थिए । १० वर्षे सशस्त्र संघर्ष र १० वर्ष शान्ति प्रक्रियाको नेतृत्व गरेका उनी यसपटक पनि गृह जिल्ला चितवनबाट प्रतिस्पर्धा गर्दैछन् ।

एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं २ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७० मा यही क्षेत्रबाट निर्वाचित नेपाल २०६४ सालको निर्वाचनमा यो क्षेत्र र रौतहट दुवैबाट पराजित भएका थिए ।

निर्वाचनमा पराजित भएपनि उनलाई पछि मनोनित गरी सभासद् बनाइएको थियो । पछि उनी प्रधानमन्त्री पनि भए । एमाले पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि प्रतिनिधिसभामा इलाम २ बाट उम्मेदवार भएका छन् । खनालले २०४८, ०५१, ०६४ र ०७० सालमा यो क्षेत्रबाट जितेका हुन् । २०५६ को निर्वाचनमा भने उनी पराजित भएका थिए ।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई गोरखा २ बाट उम्मेदवार भएका छन् । यसअघि भएका संविधानसभा २०६४ र ०७० को दुवै निर्वाचनमा उनी त्यहीवाट माओवादीका तर्फबाट विजयी भएका थिए । नयाँ शक्ति पार्टी स्थापना गरेका भट्टराई अहिले कांग्रेसको समर्थनमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेद्वार भएका छन् । यसअघि भएको संसदीय र संविधानसभाका सबै निर्वाचनमा उम्मेदवार भई उनी विजयी भएका थिए । उनी डडेल्धुराका साथै २०६४ मा कञ्चनपुर ४ र २०६४ मा कैलाली ६ बाट पनि विजयी भएका थिए । उनी हालसम्मका निर्वाचनमा अपराजित नेता हुन् ।

श्रीमान् श्रीमती उम्मेद्वार

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार छन् । उनकी श्रीमती आरजू राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार भएकी छन् ।

दुवै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिसभाकोे उम्मेदवार छन्, उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती समानुपातिक सूचीमा छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिसभामा उम्मेदवार बनेका छन् भने उनकी श्रीमती तुलसी थापा उक्त पार्टीको समानुपातिक सूचीमा छन् ।

२०७० को निर्वाचनमा गौतम प्यूठान २ बाट विजयी भएका थिए । माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । पूर्वमन्त्री उनकी श्रीमती सत्या पहाडी समानुपातिक सूचीमा परेकी छन् । दुवै पूर्वमन्त्री समेत हुन् ।

त्यस्तै माओवादी नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । उनकी श्रीमती अमृता थापा मगर समानुपातिक सूचीमा समेटिएकी छन् । दुबै नेता मोहन वैद्य माओवादीबाट माओवादी केन्द्रमा फर्किएका हुन् ।

एमाले नेता शंकर पोखरेल दाङ २ (क) बाट प्रदेशसभामा उम्मेदवार भएका छन् । उनकी श्रीमती सुजीता शाक्य प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेटिएकी छन् ।

माओवादी नेता कृष्णध्वज खड्का प्युठान (ख) बाट प्रदेशसभामा उम्मेदवार भएका छन् भने पूर्वमन्त्री रेखा शर्मा माओवादीको समानुपातिक सूचीमा छन् । माले नेता सीपी मैनाली र उनकी श्रीमती निलम खड्का समानुपातिक सूचीमा छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफू चितवन ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । उनकी बुहारी कञ्चनपर १ मा प्रतिनिसभा उम्मेदवार बनेकी छन् । उनका कान्छा छोरी ज्वाई मोरङ ६ (क) मा प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

पूर्व सभामुख

संविधानसभाका अध्यक्ष एबं व्यवस्थापिका संसदका पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ एमालेको तर्फबाट इलाम २ बाट उम्मेदवार भएका छन् । २०६४ र २०७० को निर्वाचनमा पनि उनी त्यही क्षेत्रबाट निर्वाचित भएका थिए ।२०७० पछि उनी एमाले संसदीय दलका उपनेता थिए ।

माओवादी नेतृ एबं पूर्व सभामुख ओनसरी घर्ती समानुपातिकतर्फबाट उम्मेदवार भएकी छन् । यसअघि उनी रोल्पा २ बाट विजयी भएकी थिइन् । पूर्व सभामुख दमननाथ ढुंगाना कांग्रेसको तर्फबाट भक्तपुर २ बाट उम्मेदवार भएका छन् । उनी २०४८ को संसदमा सभामुख थिए ।

बिरासतबाट आएका उम्मेद्वार

बीपी कोइरालका पुत्र कांग्रेस महामन्त्री डा. सशांक कोइराला सुस्तापूर्व नवलपरासी १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । उनी कोइराला परिवारको बिरासतबाट आएका राजनीतिज्ञ हुन् । त्यस्तै बीपीका भतिजा डा. शेखर कोइराला मोरङ ६ मा कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् ।

ेत्यस्तै तत्कालीन कांगे्रस सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला समानुपातिक सूचीमा छन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । उनी बुवाको बिरासतबाटै राजनीतिमा आएका हुन् ।

कहिल्यै नहारेका उम्मेद्वार

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि हालसम्म कुनै पनि निर्वाचन हारेका छैनन् । उनले डडेल्धुराबाट आफ्नो विजययात्रा कायम राखेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ देखि हालसम्म निर्वाचन नहार्ने नेतामा पर्छन् ।

हालसम्म भएका ५ निर्वाचनमा उनी तनहुँ १ र २ बाट पालैपालो विजयी भएका थिए । संसदको यो निर्वाचनमा उनी तनहुँ १ मा उम्मेद्वार भएका छन् ।

कांग्रेस छाडेर फोरम लोकतान्त्रिक पार्टी बनाएका विजयकुमार गच्छदारले विगत २५ वर्षदेखि चुनाव नहार्ने नेतामा पर्छन् । २०४८ सालदेखि हालसम्म उनले कुनै पनि संसदीय निर्वाचन हारेका छैनन् । २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम लोकतान्त्रिकबाट उनी विजयी भएका थिए । हाल गच्छादार फेरि कांग्रेस फर्केका छन् ।

चर्चित महिला उम्मेद्वार

प्रतिनिसभामा प्रत्यक्षतर्फ करिब ८ प्रतिशत महिला उम्मेदवार भएका छन् । पहिलो चरणका ३२ जिल्लामा २८२ मध्ये ४१ जना महिला उम्मेदवार भएका छन् ।

दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा उम्मेद्वाका लागि १ हजार ६ सय ६३ उम्मेदवारमध्ये १ सय २६ जना महिला छन् । प्रदेशसभामा पनि महिला उम्मेदवारको संख्या न्युन छ, जसमा ३ हजार २ सय ३९ उम्मेद्वारी परेकोमा २ सय ९ जना छन् ।

प्रतिनिधिसभा प्रतिस्पर्धा गरिरहेका महिलाहरुमा कैलाली ५ बाट कांग्रेस नेतृ आरजू देउवा उम्मेद्वार भएकी छन् । माओवादी प्रवक्ता पम्फा भुसाल ललितपुर ३ मा उम्मेदवार भएकी छन् ।

तेह्रथुममा कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ, प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कैलाली १ मा एमाले नेतृ गरिमा शाह, रुकुम पूर्वमा माओवादी नेतृ कमला रोका, सुनसरी ३ मा एमाले नेतृ कमला रोका, मकवानपुर २ मा कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय, पर्सा ४ मा माओवादी नेतृ उर्मिला अर्याल, बाग्लुङ १ मा कांग्रेसकी चम्पादेवी खड्का, कैलाली १ मा कांग्रेसकी ईश्वरी न्यौपाने, स्याङ्जा २ मा एमालेकी पद्मा अर्याल र कञ्चनपुर १ मा माओवादीकी बिना मगर छन् ।

चर्चित प्रदेशसभा उम्मेदवार

प्रदेश मुख्यमन्त्रीको दाबी गर्दै वरिष्ठ नेताहरु प्रदेशसभाका लागि उम्मेदवार भएका छन् । उनीहरु विजयी भएमा मुख्यमन्त्री बन्ने भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।

एमाले नेता शंकर पोखरेल दाङ २ (क) मा प्रदेशसभाका लागि उम्मेदवार भएका छन् । उनी दाङ २ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न इच्छुक थिए ।

उक्त क्षेत्र माओवादीको भागमा परेपछि माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभामा उम्मेदवार भएका थिए । पोखरेल प्रदेश ५ का मुख्यमन्त्रीका दावेदार हुन् । प्रदेश नं. ६ मा एमाले नेता प्रकाश ज्वाला मुख्य मन्त्रीका दाबेदार हुन् । उनी सल्यानबाट प्रदेशसभा उम्मेद्वार छन् ।

कांग्रेस नेता एवं पूर्वमन्त्री जीवनबहादुर शाही, हुम्ला (ख) मा उम्मेदवार भएका छन् । कालीकोट (ख) मा माओवादीका बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार भएका छन् ।

दुवै उम्मेदवार प्रदेश ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । भोजपुर (ख) बाट प्रदेशसभा एमाले नेता एवं पूर्वमन्त्री शेरधन राई प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । एमाले सचिव भीम आचार्यले सुनसरी १ (ख) बाट प्रदेशसभामा उम्मेदवार भएका छन् । दुबै नेताले प्रदेश १ को मुख्यमन्त्री हुन प्रदेशसभामा उम्मेदवार भएको बताएका छन् ।

काठमाडौं ६ (क)मा पूर्व मेयर केशव स्थापित र ८ (ख) मा पूर्वमन्त्री अष्टलक्ष्मी शाक्य उम्मेदवार भएकी छन् । एमाले नेता राजेन्द्र पाण्डे धादिङ १ (क) प्रदेशसभाका लागि उम्मेदवार भएका छन् । त्यस्तै दोलखा (ख) बाट पशुपति चौलागाई प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

यी नेताहरुलाई प्रदेश तीनको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । लमजुङ (ख) बाट प्रदेशसभामा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ उम्मेदवार भएका छन् । उनलाई एमालेले प्रदेश ४ को मुख्यमन्त्री उम्मेदवारको रुपमा अघि सारेको छ ।

कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ २ (क) बाट उम्मेदवार भएका छन् । लामो समय कमैयाको क्षेत्रमा काम गरेका पूर्व राज्यमन्त्री डिल्लीबहादुर चौधरी दाङ ३ (क) बाट उम्मेदवार भएका छन् । उनी प्रदेश ५ को मुख्यमन्त्री हुने आकांक्षा राखेका छन् ।

अर्बपति समानुातिक उम्मेदवार

नेपाली डलर अर्बपति उद्योगी विनोद चौधरी कांग्रेस समानुपातिक उम्मेदवार भएका छन् । फोब्र्स पत्रिकाका अनुसार उनी नेपालका एक मात्र डलर अर्बपति हुन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी एमालेबाट समानुपातिक सभासद् भएका थिए ।

फोब्र्सका अनुसार उनीसँग एक अर्ब ३० करोड अमेरिकी डलर (एक खर्ब ३५ करोड रुपैयाँ छ । कांग्रेसमा प्रवेश गरेपछि उनलाई समानुपातिक सूचीमा राखिएको हो । त्यस्तै एमालेले समानुपातिक बन्द सूचिमा उद्योगी मोती दुगडलाई राखेको छ । उनी नेपालका गनिएका उद्योगी, व्यावसायी हुन् ।

पूर्व लडाकू कमाण्डर पनि मैदानमा

माओवादी लडाकूको उच्च तहमा पुग्ने एक मात्र पूर्व लडाकू कमाण्डर कमला नहर्की प्रदेशसभाका लागि उम्मेदवार भएकी छन् । उनी गोरखा २ (क) बाट उम्मेदवार भएकी हुन् । माओवादी लडाकूको उनी एक मात्र ब्रिगेड कमाण्डर थिइन् ।

उनी २०५६ सालमा गोरखा जेलबाट सुरुङ खनेर भागेकी थिइन् । उनी युद्धकालका आफ्नै सहकर्मी नयाँ शक्तिका हरिशरण आचार्यसँग प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै सिन्धुपाल्चोक २ (क) बाट उम्मेदवार बनेका युवराज दुलाल पनि माओवादीको तर्फबाट चुनावी मैदानमा छन् । शान्ति प्रक्रियामा आएपछि उनी अध्यक्ष पुष्पकमल दाहालका सुरक्षामा खटेका थिए ।

नयाँ शक्तिको समानुपातिकमा करिष्मा

नयाँ शक्तिले समानुपातिक पहिलो नम्बरमा नायिक करिष्मा मानन्धरलाई राखेको छ । नयाँ पार्टीको निर्माणसँगै उनी नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय परिषद् सदस्य रहकी मानन्धर नयाँ शक्तिको पूर्णकालीन नेता भएर लागेकी छन् ।

झाक्री र लामा एमालेको समानुपातिकमा

एमालेले चर्चित नेतृ रामकुमारी झाक्रीलाई समानुपातिक सूचीमा राखेको छ । विद्यार्थी आन्दोलनबाट चर्चामा आएकी उनी उपयुक्त स्थान नपाएको भन्दै पार्टीको आलोचना गर्दै आएकी थिइन् । त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नवीना लामा समानुपातिक बन्दसूचीमा अटाएकी छन् ।

विवादित उम्मेदवार

दीपक मनाङे भनिने राजीव गुरुङ मनाङ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । उनी पटकपटक गुण्डागर्दीलगायतको आरोपमा पटकपटक पक्राउ परेर छुट्दै आएका छन् ।

फोरम लोकतान्त्रिकबाट राजनीति सुरु गरेका गणेश लामा काभ्रे १ (ख) प्रदेशसभाका लागि उम्मेदवार भएका छन् । फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण भएपछि उनी कांग्रेसबाट उम्मेदवार भएका हुन् ।

उनी ठेक्का पट्टा गरेकोमा विवादित हुने भने गुण्डागर्दी गरेको आरोप लाग्ने गरेको छ । दोहोरो नागरिकता, अवैद्य हतियार राखेको अभियोगमा विवादमा परेका ल्याहारक्याल लामा माओवादीको समानुपातिक सूचीमा परेका छन् ।

करिब एक दर्जन ठेकेदार उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा करिब एक दर्जन ठकेदार उम्मेदवार बनेका छन् । पार्टीसँगको पहुँच र ‘आर्थिक बल’ बाट उनीहरु उम्मेदवार बन्न सफल भएका भन्ने आरोप लागेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रतिस्पर्धाको रुपमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे उम्मेदवार भएका छन् । उनी राप्रपाको तर्फबाट चितवन ३ मा उम्मेदवार भएका हुन् ।

कांग्रेसको तर्फबाट रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य प्रतिनिधिसभाका उम्मेदवार भएका छन् । त्यही क्षेत्रमा अर्का ठकेदार सूर्यचन्द्र कन्स्ट्रक्सनका जनार्दन ढकाललाई एमालेले उम्मेदवार बनाएको छ । कांग्रेसले धादिङ २ मा दिलमान पाख्रिनलाई प्रनिधिसभामा उम्मेदवार बनाएको छ ।

अछामबाट भरतकुमार स्वार कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार भएका छन् । कुशेश्वर कन्स्ट्रक्सनका तीर्थ लामा कांग्रेसकै कोटाबाट काभ्रे १ मा प्रतिनिधिसभामा उठेका छन् ।

यसैगरी सर्लाही ३ मा कांग्रेसका तर्फबाट हरिशप्रसाद महतो प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । कांग्रेसको तर्फबाट पूर्णबहादुर तमाङ रामेछाप २ बाट उम्मेदवार भएका छन् ।

कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई उठाएको छ । प्रदेश र प्रतिनिधिसभा गरी कम्तीमा १४ जनालाई कांग्रेसले टिकट दिएको छ । एमालेका तर्फबाट ३ जना उठेका छन् । अन्य दलबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको तर्फबाट प्रदेशसभामा निर्माण व्यावसायीबाट उम्मेदवार भएकाहरु दैलेखबाट दिक्पाल शाही, मकवानपुरबाट इन्द्रबहादुर बानियाँ, भक्तपुरबाट अंगद खडका, स्याङ्जाबाट राजु थापा छन् ।

सुर्खेतमा खडकबहादुर खत्रीले एमालेबाट टिकट पाएका छन । बैतडीमा प्रदेशसभाका लागि गणेश चन्दले राप्रपाबाट उम्मेदवारी दिएका छन् । महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामालगायत केही व्यवसायी समानुपातिक सूचीमा छन् ।

(यो विश्लेषणात्मक आलेख सीएमआर नेपालले तयार पारेको हो ।)

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्