सर्लाही ४ का माओवादीका शिवपूजन रायको उम्मेदवारी खारेज


 


काठमाडौं, मंसिर ११

निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द गरेको छ । राय विरुद्ध आयोगमा उजुरी परेको थियो ।

पहिलो संविधानसभामा सदस्य रहेका राय आफूले पाएको कुटनीतिक राहदानीको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका व्यक्ति हुन् ।

उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगले रायको विषयमा निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरु सर्वोच्चमा समेत रिट दायर गरेका छन् ।

सर्वोच्चले त्यस विषयमा आयोगसँग जवाफ मागेपछि आयोगले उक्त जवाफ पठाउनु अगावै रायको उम्मेदवारी खारेज गरेको हो । आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।

आयोगले शनिबारकै मितिमा उक्त निर्णय गरेपनि आइतबारसम्म सार्वजनिक गरेको छैन । एकजना आयुक्तले उक्त निर्णयबारे कान्तिपुरलाई बताए ।

विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

पहिलो संविधानसभा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उमेदवार भई पराजित भएका थिए ।

यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका थिए । यतिबेला रायका प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।

यसअघि आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्