एउटा बमकाण्डले प्रहरी प्रमुख र सिडिओ को नै सरुवा


 


नुवाकोट, मंसिर १०
नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । बिदुर नगरपालिका वडा नम्बर ७ स्थित अधेँरी खोलमा आइतबार साँझ क्षेत्र नम्बर २ को प्रदेशसभा ख का माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडा सहितका स्थानीय नेताहरु सवार गाडीलाई लक्षित गरेर बम प्रहार भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए ।


उनका अनुसार ठूलो आवाजसहित बम पड्किएको भएपनि उम्मेदवार र स्थानीय नेताहरु सकुशल रहेका छन् ।
प्रजिअ यादवका अनुसार विभिन्न मतदान केन्द्रका मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रममा खतिवडासहितका स्थानीय नेताहरु सँगै आएका थिए ।

मतपेटिका बोकेको गाडी अघि बढिसकेको अवस्थामा खतिवडालगायत चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट गराइएको बताइएको छ ।
यसअघि दुई साताअघि नुवाकोटको ककनीमा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रामशरण महतलाई लक्षित गरेर बम विस्फोट गराइएको थियो । सो विस्फोटपछि नुवाकोटका प्रहरी प्रमुख र सिडिओको सरुवा नै भएको थियो ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्