३२ जिल्लामा निर्वाचन आज, ७०२ उम्मेदवार चुनावी मैदानमा


 


काठमाडौ‌ं, मंसिर १०

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा (आज) आइतबार मतदान हुँदैछ ।

दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान हुनेछ ।

मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ । ‘सम्पूर्ण तयारी भइसकेकाले मतदाताले विवेकपूर्ण निर्णय गर्ने पालो आएको छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘उत्साहका साथ उपस्थित भएर मतदानमा सरिक हुन आम मतदातालाई आग्रह गर्छु ।’

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान हुँदैछ । प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र छन् । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् ।

संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् । ती जिल्लामा दुवै सभाको समानुपातिक सिटका लागिसमेत मतदान हुनेछ ।

संविधानअनुसार प्रतिनिधिसभाको क्षेत्र संख्याको दोब्बर प्रदेशसभा क्षेत्र छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले गत भदौमा संविधानले तोकेको संख्याअनुसार निर्वाचन क्षेत्र सीमा निर्धारण गरेको थियो ।

२०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन भएयता संसदीय निर्वाचन भएको थिएन । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन भएको मौका छोपेर ०५९ असोज १८ गते शासकीय अधिकार आफ्नो हातमा लिएका थिए ।

यही अवधिमा दोस्रो जनआन्दोलन भयो, आन्दोलनमा रहेका ७ दल र सशस्त्र द्वन्द्व गरिरहेका माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा ०६३ वैशाख ११ गते ०५९ सालमा विघटित प्रतिनिधिसभा पुन:स्थापना गरी शासकीय अधिकार जनतामा फिर्ता भयो ।

१० वर्षे सशस्त्र द्वन्द्व त्यागेर माओवादी शान्ति प्रक्रियामा आयो । संवैधानिक राजतन्त्रबाट मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । ०६४ र ०७० सालमा दुइटा संविधानसभा निर्वाचन भए ।

संविधानसभालाई नै व्यवस्थापिका संसदको काम गर्ने अधिकारसमेत थियो । मधेस आन्दोलनको जगमा मुलुकले संघीय शासन व्यवस्था स्वीकार गर्‍यो ।

०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् ।

०५९ असारयता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुन:संरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् ।

यति बेला संघ (केन्द्र) सरकारका लागि प्रतिनिधिसभा र प्रदेश सरकारका लागि प्रदेशसभाको निर्वाचन हुन लागेको हो । दुवै सभाको निर्वाचन एकैसाथ हुँदैछ । प्रतिनिधिसभा तथा स्थानीय संरचना यसअघि पनि रहेको र निर्वाचनसमेत भएका थिए । तर प्रदेशको संरचना र त्यसको निर्वाचन नेपालका लागि बिल्कुल नौलो हो । संविधानले देशभर ७ वटा प्रदेश बनाएको छ ।

संविधानले आगामी माघ ७ भित्र संघीय संसद् निर्माणको परिकल्पना गरेको छ । ‘संविधान कार्यान्वयनको पहिलो खुडकिलोको रूपमा स्थानीय तहको निर्वाचन सफलतासाथ सम्पन्न भइसकेको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘समयमा निर्वाचन सम्पन्न हुँदैन कि भन्ने आशंका र भ्रमलाई पनि यो निर्वाचनले अन्त्य गर्नेछ ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सफलतासँगै संविधान कार्यान्वयन हुने र संघीय गणतन्त्र सुदृढ भई राजनीतिक संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे ।

परिचयपत्र नभए विकल्प

आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको छ । प्रमुख आयुक्त यादवले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको बताए ।

आयोगले ०७० सालको संविधानसभामा प्रयोग भएको पुरानो मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रलाई मान्यता दिने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् ।

उनले मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्नेसमेत बताए ।

बसेकै स्थानमा व्यवस्था

दार्चुलामा हिमपातका कारण उच्च हिमाली क्षेत्रबाट दक्षिण झरेका मतादाताका लागै अस्थायी बसोबास रहेकै स्थानामा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

व्यास गाउँपालिका १ का दुईवटा मतदान केन्द्रका मतदाता सदरमुकाम खलंगा झरेका छन् । दार्चुलाका निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले हिमपातका कारण केही दिन अगाडिदेखि नै त्यहाँका बासिन्दा सदरमुकाम झरेको बताए ।

‘त्यहाँका शतप्रतिशत मतदाता तल भर्नुभएको छ, निर्वाचन आयोगको परामर्शमा यहाँका राजनीतिक दल र उम्मेदवारसँगको छलफलपछि उहाँहरूका लागि सदरमुकाममै मतदान केन्द्रको व्यवस्था गरिएको छ,’ उनले भने, ‘माथि बस्तीमा मतदान केन्द्र छैन । उहाँहरूले अब सदरमुकाममै मतदान गर्न पाउनु हुनेछ ।’

ती दुई मतदान केन्द्रमा ५४१ मतदाता छन् । आयोगका प्रवक्ता नवराज ढकालले हिमपातले मतदाता तल झरेपछि त्यसको व्यवस्थापन मिलाउने जिम्मा स्थानीय मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको बताए ।

तीन ओटा मतपत्र

यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्र रहेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र हुनेछ ।

समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभातर्फ भाग लिएका दलहरूको निर्वाचन चिह्न रहने छ ।

तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्