तपाईको सवारीमा बिद्युतीय नम्बर जडान गर्नुभो ? यस्ता छन फाईदा


 


काठमाडौँ,  मंसिर ९

सवारी साधनमा विद्युतीय नं प्लेट जडान गरिएपछि आपराधिक घटना नियन्त्रणका लागि सहज हुने भएको छ ।

गत भदौ ५ गते यातायात व्यवस्था विभागले १४ अञ्चल संरचनानुसार शुरु गरेको सवारी साधनमा इम्बोस्ड नं प्लेट नेपालको संविधान अनुसार प्रदेश संरचनानुसार वितरण गर्न व्यवस्थापिका–संसद्का विभिन्न समितिले निर्देशन दिएको थियो ।

प्रदेश संरचनानुसार इम्बोस्ड नं प्लेट वितरणका लागि गत कात्तिक १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरिसक्ने विभागको लक्ष्य छ ।

सोका लागि काठमाडौँ उपत्यकाका पाँच स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान गर्ने तयारी भएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । “नागढुंगा, फर्पिङ, साँगा, जोरपाटी र नागार्जुनका प्रहरी कार्यालयसँगै रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान गर्ने गरी तयारी भएको छ, यसपछि उपत्यकामा चोरी, आपराधिक घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

इम्बोस्ड नं प्लेट लागू नहुँदा आपराधिक घटना गराएका सवारी समात्न असजिलो हुँदै आएको थियो । इम्बोस्ड नं प्लेट हाल वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले साना ठूला सवारीमा मात्र जडान गरिरहेको छ । केही समयपछि अन्य प्रदेशमा पनि शुरु गरिने विभागको तयारी छ ।रासस

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्