आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि काग्रेस कार्यकर्ताबाट आक्रमण


 


काठमाडौँ, मंसिर ९

प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि खोटाङमा आक्रमण गरिएको भनिएको घटनाको निन्दा गरेको छ ।

यही मंसिर ८ गते राति ८ बजे नेपाली काँग्रेसतर्फबाट प्रदेशसभाका उमेदवार बनेका सुवास पोखरेलको समूहले रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित आचार्य गाउँमा रात्रिभोज र पैसा वितरण गरेको सुनेर समाचार संकलन गर्न पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं ‘जनबोली न्यूज डटकम’का सम्पादक सइन्द्र राई, कोषाध्याक्ष इन्द्र आचार्य र केन्द्रीय सदस्य हरिबोल आचार्य (‘हलेसी’ साप्ताहिकका प्रधानसम्पादक) माथि साङ्घातिक आक्रमण गरिएको चौतारी केन्द्रीय कार्यालयले जनाएको छ ।

उहाँहरुका समाचार संकलनका सामग्री मोटरसाइकल, ब्ल्युबुक, सवारी अनुमतिपत्रसहित एटिएम कार्ड, थैली र तीन तोलाको सुनको सिक्रीसमेत लुटिएको बताइएको छ । चौतारीका उपमहासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा मौन अवधिमा भोज खुवाएको बेला आएको भन्ने नाममा गरिएको आक्रमण निन्दनीय र लोकतान्त्रिक आचरणविरुद्ध भएकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्