वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट


 


पोखरा,  मंसिर  ८

पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा आज साँझ कुकर बम विष्फोट गरिएको छ ।

वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभयो । घना बस्ती भएको सो ठाउँमा बम विष्फोट भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

लहान -अज्ञात समूहले आज साँझ सिरहाको मिर्चैया नगरपालिका–५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराएको छ भने संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । वाम गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराइएको हो ।

कार्यालयको नवनिर्मित माथिल्लो तलामा कुकर बम विस्फोट भएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिनुभयो । विष्फोट गराइएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

आजै साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । फोरमका तर्फबाट सिरहा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा ३ च ७६६१ नंको प्रचार गाडीमा प्रेसर कुकर बम फेला परेको हो ।

उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडि सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको भेटवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्