७२ घण्टा नेपालसँग जोडिएका कुन कुन नाका बन्द हुँदैछन ?


 


धनगढी, मंसिर  ७

आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय सुरक्षा प्रमुखको जिल्लास्तरीय सीमा समन्वय बैठक आज भारतको लखिमपुर खिरी जिल्लाको पलियामा सम्पन्न भएको छ ।

नेपालमा दोस्रो चरणमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामा केन्द्रित सो बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घन्टा कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको सीमा बन्द गर्ने समझदारी भएको बैठकमा सहभागी कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

बैठकमा निर्वाचनको समयमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक एवं अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले संयुक्त पहल गर्ने विषयमा समझदारी भएको छ । दुवै पक्षबीच निर्वाचनलगत्तै अर्को बैठक बस्ने समझदारी समेत बनेको छ ।

यता रसुवा र चिन जोड्ने रसुवागढी नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि औपचारिक रुपमा शिल गरिने भएपनि दिउँसो तीन बजेबाट नै नाका बन्द भएको हो । चुनावको समयमा ७२ घण्टा नाका बन्द गरिने भएकाले बिहीबारदेखि मंसिर १० गते आइतबार रातिसम्म नाका बन्द गरिएको हो ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्