पुस १५ सम्म प्रत्यक्ष र समानुपातिकको नतिजा आउँछ : प्रमुख निर्वाचन आयुक्त


 


काठमाडौं, मंसिर ७

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा ‘भरतपुर घटना’दोहोरिन नदिने विषयमा आफूहरु सचेत रहेको बताएका छन् ।

कान्तिपुरले पत्रिकाले गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त यादवले यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष ढंगले हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण सकिएको उल्लेख गर्दै चितवनको भरतपुर महानगरपालिकामा मात्रै समस्या उत्पन्न भएकोले त्यसलाई बिर्सिदिनुपर्ने बताए ।

‘देशका ७ सय ४४ स्थानीय तहमध्ये भरतपुरबाहेकमा निर्वाचन सफल भए, त्यो घटना एकाध रुपमा भएकोले त्यसलाई बिर्सिदिनुपर्छ’उनले भने, ‘अबको निर्वाचन कसरी गर्ने भन्नेमा हामी लागौं ।’उनले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे ।

भरतपुर महानगरपालिकामा गत वैशाख ३१ गते भएको स्थानीय निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुन: मतदान भएको थियो ।

दलहरुसँगको सहमतिका आधारमा दुई चरण मतदान भएपछि गणना गरिने भन्दै प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको नतिजा एक साताभित्र आइसक्ने उनले बताए ।

मतपेटिका सुरक्षाबारे आयुक्त यादवले भने, ‘मतदान सकिएपछि तोकिएको ठाउँमा मतपेटिका संकलन गर्ने र त्यसलाई नेपाली सेना, प्रहरी, मुख्य निर्वाचन अधिकृत, दलका प्रतिनिधिको निगरानीमा सिल गरेर राख्ने छौं ।’

पहिलो चरणको मतदानपछि डेढ हप्तासम्म मतपेटिका सुरक्षामा दलका प्रतिनिधि र सुरक्षाकर्मीले कष्ट सहनुपर्ने आयुक्त यादवको भनाइ छ । उनका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना आगामी पुस १५ गते भित्र सकिसक्ने छ । -कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्