भोजपुरमा सिडिओको सरुवाले निर्वाचनमा षडयन्त्रको आशंका


 


भोजपुर, मंसिर ५
निर्वाचनको मुखैमा सिडिओको सरुवा भएपछि भोजपुरमा विभिन्न कोणबाट चर्चा परिचर्चा र टिप्पणी हुन थालेका छन् ।

यसलाई कसैले चुनाव प्रभावित पार्ने षड्यन्त्रको रुपमा लिएका छन् भने केहिले नियमित प्रक्रियाको रुपमा व्याख्या गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट सरुवा भई गत भदौको १४ गते भोजपुर हाजिर भएका प्रमुख जिल्ला अधिकारी चेतराज बराल ३ महिना पनि भोजपुर बस्न पाएनन् ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जिल्लामा अन्तिम तयारी चलिरहदा मन्त्रालयको सरुवा चिठ्ठीको फ्याक्स आएपछि उनी लगायत सबै कर्मचारी आश्चर्यमा परेको जिल्ला प्रशासन कार्यालय, भोजपुरका एक कर्मचारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा पहिलो चरणमा निर्वाचन हुने ४ वटा जिल्लामा गरिएको सिडिओको सरुवामध्ये भोजपुर पनि परेको छ ।

भोजपुरका प्रजिअ वराललाई राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र काठमाण्डौंमा पठाईएको छ भने उनको ठाउँमा मन्त्रालयले फणिन्द्र दाहाललाई पठाएको छ ।

जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री हुँदा बराल भोजपुरको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए ।

चुनावको बेला भएको सरुवाको सन्दर्भमा प्रजिअ वरालले मन्त्रालयको निर्णय अनुसार आफू भोजपुर आएको र मन्त्रालयकै निर्णय अनुसार जानुपर्नेमा आश्चर्य मान्नुपर्ने कारण नभएको बताए ।

पछिल्लो समयमा वाम गठबन्धनका उम्मेद्वारहरु शेरधन राई, राजेन्द्र राईमाथि आक्रमण भएको तथा केहि ठाउँमा वम विस्फोटपश्चात थपिएको सुरक्षा चुनौतीलाई सामना गर्न नसकेर तपाईलाई बोलाईएको त हैन ? भन्ने जिज्ञासामा उनले भने – ‘भोजपुरमा मात्र नभएर देशभर त्यस्ता घटना भएका छन्, गुरिल्लासँग सिंगो सरकारले त सक्दैन सीमित सुरक्षाकर्मी लिएर वसेका हामीले हुनेसम्म प्रयास ग¥यौं, बम विस्फोटपछिको घटनापछि तत्काल सुरक्षा समितिको आकस्मिक बैठक वसेर केहि रणनीतिका साथ अगाडि बढेका पनि थियौं सुधारका संकेत पनि देखा पर्न थालेका थिए ।’

उनले सुरक्षामा कमजोरी रहेको भन्ने आरोपलाई अस्वीकार गरे ।

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधीसभातर्फका उम्मेद्वार नेपाली कांग्रेसका नेता उमेशजंग रायामाझीले निर्वाचन सफलताका साथ सम्पन्न गराउने प्राथमिकतास्वरुप सिडिओको सरुवा भएको हुनसक्ने बताए । उनले भने ‘शेरधन राईलाई हमला भयो, उम्मेद्वारहरुलाई खतरा भयो भन्ने लागेर प्रशासनले सकेन भन्ने लाग्यो कि त्यहि भएर गरेको पनि हुनसक्छ मलाई यो बारेमा अरु केहि थाहा छैन, भर्खर सुन्दैछु ।’

भोजपुर प्रदेश नं. ख का वाम गठबन्धतर्फका उम्मेद्वार नेकपा एमालेका नेता शेरधन राईले चुनावको ५ दिनअघि सिडिओका सरुवा गर्नु सरकारको यो रवैयाले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित वनाउनेमा आशंका पैदा भएको बताए ।

‘निर्वाचनलाई आफ्नो पक्षमा प्रभावित पार्न सिडिओ सरुवा गर्ने. मान्छे परिवर्तन गर्ने खराव नियतका साथ भएको छ, यस्तो कुराले निर्वाचन पूर्ण रुपमा प्रभावित त हुँदैन ? ’ राईको टिप्पणी थियो ।

सामान्यतयाः निर्वाचन आचार संहिता सुरु भएपछि कर्मचारीको सरुवा, बढुवा गर्न पाइदैन् । तर देउवा सरकारले दिनहुँ आचार संहिता उल्ंघन गरिरहेको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्