जब कर्मचारीको अावास मेयर बीरबलले फोडे…


 


भोजपुर, मंसिर ५
उत्तरी षडानन्द नगरपालिकाका मेयर बीरबल राईले कार्यकारी अधिकृतको आवासमा लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ता राख्ने थलो बनाएका छन् ।

निमित्त अधिकृत राजेश काफ्ले बस्दै आएको आवास आइतबार राती देखि ताला फोडेर कार्यकर्ताहरुलाई बसाएका हुन् ।

अधिकृत काफ्ले निर्वाचन कार्यक्रमको सिलसिलामा सदरमुकाम आएको बेला कसैलाई थाहै नदिई राईले ताला फोडेको उपमेयर मेरीका राईले बताइन् ।

‘कर्मचारीहरुले आज विहान मलाई जानकारी दिएका हुन्, गएराती त्यसो भएछ, हामी जनप्रतिनिधि कसैलाई यसबारे जानकारी छैन,’ उनले भनिन् ।

अधिकृतको आवासमा कार्यकक्ष बनाएर पूर्व राज्य मन्त्री तारामान गुरुङ लगायतका उच्च पदस्थ कांग्रेस नेताहरु बसेका छन् ।

यसबारे अधिकृत काफ्लेलाई सम्पर्क गर्दा आफु निर्वाचनका कारणले सदरमुकाममा रहेको र जानकारी नभएको बताए । ‘मलाई त्यसबारे केहि थाहा छैन, यदि त्यसो हो भने कानुन बमोजिम कार्बाही भैहाल्छ नी,’ उनले भने ।

केहि कर्मचारीले राती ताला फोड्ने क्रममा कार्यालयमा कागजपत्र हुने भएकाले नफोड्न र स्थानीय होटलमा राख्न बताएका थिए । तर मेयरले हेपाहा भाषामा कार्यथलोका लागि कार्यकक्ष मिलाउन भनेपछि कर्मचारी चुपचाप रहुनपरेको कर्मचारीले बताए ।

उनले कार्यकक्षमा लोकतान्त्रिक गठबन्धनको सभा, बैठकहरु राख्दै आएका छन् । यसबारे मेयर राईलाई सोध्दा एकैचाटी आक्रोसित भए ।

‘म मेयरको हैसियतले मेरो नगरपालिका क्षेत्रमा पाहुना राख्न नपाउनु ? हंगामा मच्याउनु पर्ने ? कसले सुनायो यो कुरा ?’

मलाई तताउने काम नगर्नु भन्दै उनले भने, ‘पत्रकारले मलाई तताउने काम धेरै पटक भएको छ, राम्रो तरिकाले लेख्नुस्,’ कुरा छल्ने हिसाबले उनले भने ।

मेयरले आफ्नो अधिकारको कुरा रहेको भन्दै जो कोहीलाई राख्न मिल्ने बताए ।

जो कोहीलाई राख्न मिल्छ भन्दैमा तपाईले कांग्रेसका कार्यकर्ता राख्न मिल्छ ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो अधिकारको कुरा हो, राज्यले भाडा तिरेको ठाँउमा मेरो अधिकार हुन्छ ।’

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्