पहिलो चरणको निर्वाचन सामाग्री निर्वाचन क्षेत्रमा, सकियो दोस्रो चरणको मतपत्र छपाई


 


काठमाडौं, मंसिर ४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ ।

निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि सोमबार बिहान छपाई सकिएको हो ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड ७४ लाख, प्रदेशसभाको दुई चरणका लागि १ करोड ७४ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यसैगरी समानुपातिकतर्फको मतपत्र एउटै सिटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ करोड ७४ लाखकै संख्यामा मतपत्र छपाई भइसकेको छ ।

प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकतर्फ गरी ५ करोड २२ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतपत्र असोज १७ गतेदेखि सुरु भएर कात्र्तिक ८ गतेसम्म सकिएको थियो ।

त्यसैगरी पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ३४ लाख तथा प्रदेशसभाका लागि सोही संख्यामा मतपत्र छपाईँ गरी निर्वाचन क्षेत्रमा पठाइ सकिएको प्रवक्ता ढकालले जानकारी दिए ।

पहिलो चरणको प्रत्यक्षको मतपत्र कात्तिक १० गते सुरु गरेर २० गते सकेको थियो ।

दोस्रो चरणका लागि कात्तिक २० गतेदेखि सुरु गरेर तोकिएको समय अगावै छपाई सकिएको हो । दोस्रो चरणका लागि प्रतिनिधि सभाका लागि १ करोड २० लाख तथा प्रदेशका लागि पनि सोही संख्यामा मतपत्र छापिएको छ ।

दुई चरणमा गरी १ करोड ५४ लाख मतदाता भएपनि आयोगले करिब २० लाख बढी मतपत्र छापेको छ । अपेक्षाभन्दा कम उमेदवारी परेकाले तोकिएको समयभन्दा छिटो मतगणना सकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्