‘भोजपुर ट्रेल रनिङ्ग’ को उपाधि प्युठानका वावु – छोरीलाई 


 


भोजपुर, मंसिर २

भोजपुर ट्रेल रनिङ्गको उपाधि प्यूठानका वावु छोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधि दामोदर वुढामगर र महिला तर्फको उपाधि उनकै छोरी हुमी वुढामगरले हात पारेकी छन् ।

दामोदरले निर्धारित १८ किलो मिटरको दुरी  १ घण्टा, ५५ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् भने,  हुमीले  निर्धारित दुरी २ घण्टा ३५ मिनेटमा २७ सेकेन्डमा पुरा गरेकी थिइन् । त्यस्तै पुरुष तर्फ प्युठानकै रुपलाल वुढामगर द्धितिय भएका छन् ।

उनले निर्धारित दुरी २ घण्टा ३७ सेकेन्डमा पुरा गरेका थिए । उनि दामोदरका आफ्नै भाई हुन् । त्यस्तै तृतिय, भोजपुरका भुमीराज राई , चौथो धनकुटाका विवेक राई र पाँचौ राम वहादुर गुरुङ्ग भएका छन् ।

उनिहरुले निर्धारित दुरी क्रमशः २ घण्टा १ मिनेट ३१ सेकेन्ड, २ घण्टा ८ मिनेट २८ सेकेन्ड र २ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पुरा गरेका थिए ।

त्यस्तै महिला तर्फ द्धितिय भोजपुरकी प्रतिभा श्रेष्ठ, तृतिय भोजपुर साम्पाङकी सुनिता राई, चौथो विना राई र पाँचौ स्मीता तामाङ्ग भएकी छिन् ।

उनिहरुले निर्धारित दुरी क्रमश २ घण्टा ४७ मिनेट २१ सेकेन्ड,  ३ घण्टा ३ मिनेट ४४ सेकेन्ड, ३ घण्टा ७ मिनेट १४ सेकेन्ड, ३ घण्टा ८ मिनेट ४१  सेकेन्डमा पुरा गरेको आयोजकले जनाएको छ ।

ट्रेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमश दश हजार, आठ हजार, छ हजार, चार, हजार, दुई हजार मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा प्रथम हुने महिला सहभागी हुमी वुढामगरले आगामी जनवरीमा हङ्कङमा हुने ५० किलोमिटर गोर्खा ट्रेलमा सहभागी हुन पाउने  भएकी छिन् ।

दौड पौवादुङमा गाउँपालिकाको सानो दुम्मा माध्यमिक विद्यालयबाट, मानेडाँडा, वास्तीम, अखुवाखोला,पारपानी टक्सार हुँदै भोजपुरको सहिद पार्क सम्म १८ किलो मिटरमा गराइएको थियो ।

रीमाचुङ स्पोर्टस एकाडेमी र सानोदुम्मा माध्यमिक विद्यालयको  आयोजनामा गरिएको  प्रतियोगितामा मिरा राईको पनि प्रत्यक्ष सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्