बम बिस्फोटमा घाइते राईको थप उपचारका लागि धरान लगियो


 


भोजपुर, मंसिर २
भोजपुरको षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोटमा परी घाइते भएका युवा संघका नेता विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ ।

भोजपुर अस्पतालमा उपचार सम्भव नभएपछि राईलाई धरान लगिएको हो । उक्त ठाउँमा दोहोरो भिडन्त समेत भएको प्रहरीले बताएको छ ।

अज्ञात समूहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो । ट्याम्के मैयुङ गाउँपालिका ७ कोटका विक्रम राई कोट एमाले गाउँका सचिव हुन् भने युवा संघ भोजपुरका सचिवालय सदस्य समेत हुन् ।

बमको छर्राले उनको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । बमको छर्रा लागेर दुई जना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक निरिक्षक उमेश मेहेता र प्रहरी जवान देवनारायण चौधरी घाइते भएका हुन् ।

विहान उक्त स्थानमा दुइ जना युवाले बम राखेका थिए । बम राख्दै गरेको स्थानीय युवाले देखेपछि अरुलाई खवर गरेका थिए । खवर पछि नजिकै रहेको सुन्तले प्रहरी चौकीबाट प्रहरी घट्नास्थल पुगेका थिए ।

प्रहरीले सवारीलाइ रोकेर सुरक्षा दिइरहेको बेला बम पड्किएको थियो । बम पड्किएपछि बम राख्ने समुहले वाटो माथिबाट गोलि समेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गित नारायण चौधरीले बताए ।

प्रहरीले जवाफी कारबाहीमा १९ राउन्ड गोली चलाएको थियो । बम राख्ने र गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्