जन्म दर्ता सहज बनाउन आग्रह


 


काठमाडौँ,  कात्तिक ३०

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाबुआमाको अनिवार्य नागरिकताका कारण देखाएर जन्मदर्ता हुुन नसकेका बालबालिकाको भविष्य अन्योलपूर्ण रहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

गुड नेवर्स इन्टरनेशलन र जागृति बाल तथा युवा सरोकार नेपालले राजधानीमा आयोजना गरेको बाल संरक्षणका विद्यमान सवालमा सरोकार भएकाहरुबीचको संवाद कार्यक्रममा अध्यक्ष शर्माले संविधानले बालबालिकाको जन्मदर्तालाई कानूनी अधिकारका रुपमा व्याख्या गरेको बताउँदै सोच, संस्कार र कार्यशैलीमा परिवर्तन नआएसम्म बालअधिकार सजिलै स्थापित नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताललेस्थानीय तहको क्षमता विकास र अभिभावकको सचेतना अभिवृद्धिका कार्यक्रम सँगसँगै लैजानुपर्ने औँल्याउनुभयो ।

आयोजक संस्था गुड नेवर्सका कार्यक्रम निर्देशक रुपा मिश्रले बाल संरक्षणको विषयलाई स्थानीय तहदेखि केन्द्रसम्म जोड्नका लागि निरन्तर बालमैत्री संवाद जारी राख्नुपर्नेमा जोड दिनुभयो । युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाल सरोकारका विषयमा सात वटै प्रदेशमा छलफल गरिने र कार्यान्वयनका लागि सकारात्मक दबाब दिइने बताउनुभयो ।

कार्यक्रममा बालबालिकासँग सरोकार राख्ने सरकारी निकाय, ७५ सामाजिक संघसंस्था, ३० बाल क्लब, १५ गैरसरकारी संस्था र १५ जिल्ला सञ्जालका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्